पार्टी पुनर्गठन हुदैछ, फुट्दै छैन : शाह

पार्टी पुनर्गठन हुदैछ, फुट्दै छैन : शाह

पौष १४, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला सह ईञ्चार्ज गुलावजंग शाहले पार्टी नफुटेको तर पुनर्गठनको प्रक्रियामा रहेको बताएका छन । सोमबार सल्यानमा ओली समुह निकट अगुवा नेता कार्यकर्ताहरुको जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

पार्टीको सचिवालयका सदस्यहरु नै पार्टी एकताका बाधक रहेको बताउदै उनले माधव नेपालले तेस्रो अध्यक्ष बन्नुस भन्दा नमानेर पार्टी फोडेरै अध्यक्ष बन्न खोजेकाले पार्टी विभाजन उन्मुख भएको बताए । यद्यपी पार्टीमा बहुमत सदस्य पार्टी एकता जोगाउने पक्षमा रहेको बताउदै उनले आफुहरु पार्टी एकता र पुनःगठनको पक्षमा रहेको बताए ।

‘जसरी ४४७ जना केन्द्रिय सदस्यहरु अध्यक्ष र महासचिवले मनोनित गर्नु भएको थियो । त्यहि प्रक्रिया बाट अध्यक्ष र महसतिवले ११९९ केन्द्रिय सदस्यहरु मनोनित गर्नु भएको हो ।’ उनले भने – ‘तर बहुमत हुदाहुदै पनि हामिले कसैलाई कारवाहि गरेनौं । यसबाट पनि थाहा हुन्छ की को पार्टी एकता भत्काउदै छ , कस्ले पार्टी बनाउदै छ ।’

नेपाल जस्तो देशमा स्थीरता भएन भने विकास र समृद्धी हाँसिल गर्न नसकिने भएकाले स्थीरताको लागी बनेको सरकारले गरेको विकास र काम बाट आत्तिएर प्रधानमन्त्री भारत भ्रमण गएको वेला नेपालमा आधाआधा कार्यकालको विषय उठाएर अन्तराष्ट्रिय स्तरमा अस्थीरताको संकेत दिएको उनले बताए ।

महाधिवेशन बाट पुनः पार्टी अध्यक्ष र अर्काे चुनाव बाट प्रधानमन्त्रीमा नदोहोरीने घोषणा गरिसकेका प्रधानमन्त्रीलाई जवरजस्ती अपमानजनका ढंगले निकाल्न खोजिएपछि मध्यावधि निर्वाचनमा जाने कदम चालिएको र बैशाखमा चुनाव हुनेका कुनै दुईमत नै नरहेको उनले बताए ।

सरकारले हालसम्म पुर्वाधार निर्माण गरेको सफलता र गुमेको भुभाग फिर्ता गरेको लगाएत कामहरु जनतामाझ लिएर आफुहरु चुनावमा होमिनुपर्ने उनले बताए ।

पौष ५ गते प्रधानमन्त्रीको सिपारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा विभाजन उन्मुख भएको छ भने देश द्धन्द्ध तर्फ उन्मुख भएका छन । नेकपाकै प्रचण्ड नेपाल पक्ष सहित सवै राजनितिक दलहरु संसद विघटन र मध्यावधि निर्वाचनको विरोधमा रहेका छन । यसै सन्दर्भमा सोमबार सल्यानमा ओली समुह निकट नेता कार्यकर्ताहरुको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा ओली समुहमा हालै मनोनीत गरेका केन्द्रिय सदस्य लोक बहादुर डाँगी, कुल बहादुर गिरी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्यहरु मनोज सिंह, महेश देवकोटा, दिपेन्द्र डिसी, गनेशमान सिंह, सहनसिल्ता ओलि डिसी, लोकेन्द्र खडका, पुष्पा बोहरा, जित बहादुर चलाउने, देवेन्द्र रोका, घनश्याम शर्मा, जनक विक, ज्ञान प्रकाश शर्मा, इन्द्र खडका लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन दान बहादुर केसीले गरेका थिए ।