सल्यानमा ‘स्वच्छ खानेपानी सँगै हराभरा गाउँ निर्माण गर्न सहकार्य गरौँ’ : शाह
सल्यान, २४ माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट सल्यानका उम्मेदवार गुलाबजंग शाहले सल्यानका गाउँबस्तीहरूमा स्वच्छ खानेपानी पुर्याउँदै सुन्दर र हराभरा गाउँ निर्माणका लागि सहकार्य गर्न अपिल गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उम्मेदवार शाहले खानेपानी जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ खानेपानी बिना स्वस्थ जीवन सम्भव नहुने बताए । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण सल्यानका धेरै खानेपानीका मुहानहरू सुक्दै गएका र यसको प्रत्यक्ष मार अग्ला तथा सुख्खा भूभागका बस्तीहरूले भोगिरहेको उनले जनाएका छन् ।
खानेपानीको अभावकै कारण गाउँहरू रित्तिँदै गएको, जनसंख्या पलायन भइरहेको र यससँगै मौलिक संस्कृति तथा परम्परा पनि संकटमा परेको शाहको भनाइ छ ।
यही यथार्थलाई मध्यनजर गर्दै आफूले विगतमा जिम्मेवारीमा रहँदा खानेपानी समस्या समाधानका लागि पहल गरेको उनले स्मरण गराए । २०७४ सालमा कर्णाली प्रदेशसभामा निर्वाचित भएपछि बनगाड कुपिन्डे गाउँपालिका–७ मा ‘संग्रही लिफ्ट खानेपानी आयोजना’ अघि बढाइएको र आज त्यहाँका नागरिकहरूले सहज रूपमा स्वच्छ खानेपानी उपभोग गरिरहेको शाहले उल्लेख गरेका छन् ।
अझै पनि सल्यानका धेरै गाउँबस्तीहरू खानेपानी समस्याबाट पीडित रहेको बताउँदै शाहले आगामी दिनमा जनताले विश्वास गरेर जिम्मेवारी दिए क्रमशः अग्ला भूभागका बस्तीहरूमा स्वच्छ खानेपानी पुर्याउने अभियानलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
सन्देशको अन्त्यमा उनले विशेषगरी युवाहरूलाई आह्वान गर्दै स्वच्छ खानेपानीसँगै सुन्दर, हराभरा र बस्न योग्य गाउँ निर्माणका लागि सबै मिलेर सहकार्य गर्न आग्रह गरेका छन् ।













लेखकको सम्वन्धमा