दार्मामा ‘अरुण- गणेशमान’ टकराव : अरुण कमरेडको निसानामा गणेशमानका भाइ – बुहारी

दार्मामा ‘अरुण- गणेशमान’ टकराव : अरुण कमरेडको निसानामा गणेशमानका भाइ – बुहारी

माघ १४, सल्यान । केन्द्रिय राजनीतिमा नेकपा २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच राजनीतिक भन्दा पनि गैरराजनीतिक र व्यक्तिगत तहमा गएर एक- अर्कोलाई गालीगलोज र आरोपप्रत्यारोप भैरहेको बेला सल्यानको दार्मा गाउँपालिकामा पनि पूर्व माओवादी केन्द्र बाट निर्वाचित गाउँपालिका अध्यक्ष निमबहादुर केसी ‘अरुण’ र नेकपाका (पूर्व विप्लव पृष्ठभुमिका ) अर्का युवा नेता गणेशमान सिंह बिच यस्तै द्वन्द चलिरहेको छ ।

केहि दिन यता सामाजिक संजाल र सार्वजनिक रुपमै उनिहरू बिचको आरोपप्रत्यारोप सहितको विवाद छरपस्ट भएको छ । केही दिन अघि दार्मा गाउँपालिका वडा नं ५ को वडा कार्यालयको जग्गाको बिषयमा गाउँपालिकाले बदमासी गरेको भनेर जिल्ला प्रशासन कार्यालय सल्यानमा मुद्दा परेको बिषयको समाचार लिंक श्येर गर्दै नेता गणेशमानले दार्मा गाउँपालिकामा भएका बिकृतीहरूको लामो सुचि सहित विभिन्न आरोप लगाएका थिए ।

नेता सिंहको उक्त आरोपको सामाजिक संजाल फेसबुक मार्फत जवाफ दिदै गाउँपालिका अध्यक्ष अरुणले नेता गणेशमानलाई गल्लीमा भुक्ने कुकुरको संज्ञा दिएका थिए भने फेसबुक मार्फत नै गाउँपालिकाका प्रबक्ता सेतिराम रोकाय मार्फत गणेशमानलाई खुल्ला पत्र भन्दै बिज्ञप्ति निकालेका थिए । बिज्ञप्तिमा रोकायले विप्लव नेतृत्वको नेकपामा हुदा चन्दा उठाएको पैसाले गणेशमान सिंहले दाङमा घर बनाएको आरोप लगाएका थिए ।

त्यो भन्दा पहिला पनि एक पटक अध्यक्ष अरुणले अराजनीतिक र फोहोरी शब्द चयन गरेर नेता गणेशमानलाई इङ्गित गर्दै ”राजनीति बेश्या, पातर र कार्तिके कुत्ता’ आदिको संज्ञा दिएका थिए । सामाजिक संजाल प्रयोगकर्ताहरुले अध्यक्ष अरुणको स्तर बाट त्यस्ता शब्द चयन नसुहाउने भन्दै आलोचना गरेपछि र उक्त फेसबुक स्टाटस फिर्ता लिनुपर्ने दवाव दिएपछी उनले त्यो स्टाटस डिलिट गरेका थिए ।

‘अरुण- गणेशमान’ द्वन्द्वात्मक सम्बन्धको नालिबेली

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी ‘अरुण’ र अर्का युवा नेता गणेशमान सिंह दुबै पुर्व माओवादी पृष्ठभूमिका नेताहरू हुन । दुबै नेता सल्यानको राजनीतिमा परिचीत छन । उनिहरू दुबै जनालाई प्रखर र स्पष्ट वक्ता, अध्ययनशिल, बौद्धिक र डायनामिक नेताको रुपमा मान्छेहरूले चिन्ने गर्दछन भने यिनिहरूको कमजोरीको रुपमा गणेशमान सिंहलाई बढी भावनात्मक र अस्थिर स्वभाव भएको नेताको रुपमा आलोचना हुने गरेको छ ।

त्यस्तै नेता अरुण बाहिरी रुपमा बढी हल्का र फर्वार्ड तर भित्रीरुपमा बढी कुटिल नेता भनेर आलोचना हुने गरेको छ । २०७४ को संघ र प्रदेश सभा निर्वाचनमा सल्यानमा बाम गठबन्धन विरुद्ध नेता, भिमप्रकाश शर्मालाई बागी उम्मेदवारी हाल्न उक्साएर अन्तिममा आएर आफू तत्कालीन माओवादी केन्द्रको जिल्ला संयोजक हुँदै बागी उम्मेदवारहरू लाई धोका दिएको बागी निकट नेताहरू बताउछन । अरुणले धोका नदिएको भए बागी उम्मेदवारको जित हुने उनिहरूको दावी छ।

यद्यपि उनीहरु मध्ये अध्यक्ष अरुण उमेर र राजनीतिमा सिनियर हुन । अरुण माओवादीले संचालन गरेको १० बर्षे जनयुद्धमा सल्यान जिल्लाको पार्टी सचीव भैसकेका नेता हुन भने तत्कालीन समयमा गुल्मी जिल्लाको पनि पार्टी सचीव बनेका व्यक्ति हुन । अरुण अहिले पनि नेकपाको प्रदेश कमिटी सदस्य र दार्मा गाउँ पालिका ईन्चार्ज हुन ।

गणेशमान सिंह चाहिँ तत्कालीन एकीकृत नेकपा माओवादीको विद्यार्थी राजनीति हुँदै मोहन बैध्य नेतृत्वमा बिभाजित भएको नेकपा – माओवादीको विद्यार्थी संगठनको सल्यान जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य हुँदै पछि विप्लव नेतृत्वमा पार्टी बिभाजन भएपछि विप्लव नेकपा सल्यानको कार्यालय टिममा बसेर काम गरीसकेका व्यक्ती हुन ।

खासगरी दार्मा गाउँपालिकाको सन्दर्भमा पालिकाको तल्लो बेल्टमा नेता अरुणको राम्रो पकड र प्रभाव छ भने माथिल्लो बेल्टमा गणेशमान सिंहको पकड छ । बैध्य नेतृत्वमा तत्कालीन माओवादी पार्टी बिभाजन भएसँगै दार्मामा अरुण – गणेशमान “संघर्ष र सहकार्य” सुरु हुन थालेको हो । तर तत्कालीन विप्लव नेतृत्वको नेकपा सल्यानमा नेताहरू सँग अन्तरबिरोध बढेपछी गणेशमान सिंहले उक्त पार्टी परित्याग गरे । गणेशमानलाइ विप्लव नेकपा परित्याग गर्न र तत्कालीन माओवादी केन्द्रमा प्रवेश गराउन अध्यक्ष अरुणले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

गणेशमान र अरुण एउटै पार्टीमा भएपछि केही समय अरुण गणेशमान सम्बन्ध निकै राम्रो देखिन्थ्यो । गणेशमान, अरुणलाई डायनामिक नेता भन्थेभने, अरुणले गणेशमानलाई दार्माको सम्पत्ति भन्ने गरेका थिए । उनिहरू दुबैजना सार्वजनिक रुपमै र सामाजिक संजालमा एक अर्कोलाई प्रसंसा गर्थे । खासगरी गणेशमान सिंहले लेखेको किताब “सल्यान इतिहास र सपना” लाई नेता अरुणले दार्माको सम्पत्ति भन्ने गरेका थिए ।

त्यसपछि अरुण – गणेशमान सम्बन्धमा दरार

तर उनिहरूको यो सम्बन्ध लामो समयसम्म टिकिरहन सकेन । गत बर्ष गणेशमान सिंहले नेतृत्व गरेको समाजवाद अध्ययन केन्द्र सल्यानले दार्मा गाउँपालिकाको अढाइ बर्षे यात्रा बिषयमा प्रतिपक्षी नेपाली काँग्रेस सहित युवा र बुद्धिजीवी सहितको समिक्षात्मक कार्यक्रम आयोजना गर्यो । अध्यक्ष अरुणलाई नै प्रमुख वक्ता बनाएर गरेको कार्यक्रम राम्रै नियतले गरिएको भएपनी त्यसलाई अध्यक्ष अरुणले आफ्ना बिरोधिलाई मन्च दिएर आफु विरुद्ध घेराबन्दी गर्न खोजेको रुपमा बुझे । दार्मामा स्थानीय सरकार बनेको अहिलेसम्मकै इतिहास प्रमुख प्रतिपक्षी दललाई बोलाएर गरेको त्यो नै पहिलो कार्यक्रम थियो ।

त्यस्तै नेकपा सल्यानको संगठानिक एकता प्रक्रिया अघि बढेपछि गणेशमान पनि जिल्ला कमिटीमा परे । जिल्ला कमिटी एउटा कार्यक्रमको बेला गणेशमान सिंहलाई इङ्गित गर्दै कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जिल्ला कमिटीमा आफ्नो पालिका बाट धेरै सिनियर नेता छुटेको र पार्टी फोडेर बनेका समुह बाट आउने नाममा जुनियरहरू जिल्ला कमिटीमा आएको भन्दै चर्को असहमति राखिन । त्यतिबेला बुढा र विप्लव बाट आएका अर्का नेता क्षितिज मल्ल बिच कार्यक्रममै भनाभन भएको थियो ।

पार्टीको लाइन संघर्षहरूमा दार्मा गाउँपालिका अध्यक्ष अरुण र कुमाख गाउँपालिका अध्यक्ष बुढाको राजनीतिक निकटताको कारण दिलमाया बुढाले आफू जिल्ला कमिटीमा आएको प्रती रोष प्रकट गरेको बेला आफुले नेता मानेका अरुणले मौन समर्थन गरेपछी गणेशमान सशंकित भए । यसरी एकपछि अर्को गर्दै अरुण – गणेशमान संबन्धमा अविस्वास बढ्दै गयो । कतिसम्म भने दार्मामा हुने पार्टीका कार्यक्रममा नेता अरुणले गणेशमानलाई बोल्न नदिने, आसन नगराउने आदि गरेर निषेध गर्न थालेको गणेशमान बताउछन । यस्ता बिषयमा कुरा गर्दा पार्टी नेताहरूले पनि कुनै वास्ता नगरेको उनको गुनासो छ ।

यस्तैमा वडा नं ५ को वडा कार्यालय निर्माणको लागी वडाध्यक्ष राम बहादुर केसी र अध्यक्ष अरुणले गणेशमानलाई तोकिएको ठाउँमा जग्गा जुटाउन आग्रह गरे । आग्रह अनुसार आफू लगाएत अन्य स्थानीयहरू मिलेर जग्गा किनेर जग्गादान गरेको गणेशमान बताउछन । तर जग्गादान गर्ने भनेर जग्गा किनिसकेपछी, अध्यक्ष अरुणको निर्देशनमा वडाध्यक्ष केसीले वचन फेरेको र उक्त जग्गाको निबेदन खारेज गरि अर्को ठाउँमा जग्गा माग गरेर वडा कार्यालय बनाउने निर्णय गरेपछि आफुलाई नियोजित रुपमै फसाउन खोजेको भनेर गणेशमान लगाएत जग्गादान गर्नेहरूले असन्तुष्टि जनाएपछी उनिहरू बिच सार्वजनिक रुपमै आरोपप्रत्यारोप हुन थालेको हो भने अहिले नेकपा बिभाजन उन्मुख भएपछि अरुण, ‘प्रचण्ड- माधव’ समुहमा लागेपछि गणेशमान ‘ओली समूह’ तर्फ लागेका छन ।

अरुण कमरेडको निसानामा गणेशमानका भाइ – बुहारी

‘अरुण – गणेशमान’ सम्बन्ध अहिले यति तिक्ततापूर्ण भएको छ कि पाएको ठाउँमा एकले अर्कालाई सकेको जति दुख दिन पनि उनिहरू पछि परेका छैनन । प्रतिसोधको यो लडाइमा वडा नं ५ को वडा कार्यालयको जग्गाको बिषयमा अरुणको निर्देशनमा गाउँपालिकाले खेलेको दोहोरो भुमिका विरुद्ध गणेशमान निकट जग्गा धनीहरूले छानबिनको माग गर्दै जिप्रका सल्यानमा मुद्दा  हालेका छन भने गापा अध्यक्ष अरुणले वडा नं ५ को कार्यालय सहयोगी गणेशमान सिंहकि भाइ बुहारी भगवती सिंहलाई घरपाएक पर्ने वडा नं ५ ढाकाडामकोटको कार्यालय बाट दार्मा गाउँपालिकाको कार्यालय फारुलाचौरमा सरुवा गरेका छन ।

दार्मा गाउँपालिकाको माघ ०७ गतेको कार्यपालिका बैठकबाट निर्णय गराउदै अध्यक्ष अरुणले उनलाई गाउँपालिकामा सरुवा गरेका हुन । गाउँ कार्यपालिकाको निर्णय अनुसार तोकिएको कार्यालयमा हाजिर हुन निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले भगवती सिंहलाई पत्र पठाएका छन । राजनीतिक प्रतिसोधले कार्यालय सहयोगीलाई सरुवा गरिएको सिंहको परिवारले नयाँ दृष्टिलाई बतायो ।

त्यस्तै अध्यक्ष अरुणको प्रतिसोधको निसानामा गणेशमानका भाइ तथा भगवती सिंहका श्रीमान दिनेशमान सिंह पनि परेका छन । दिनेशमान गाउँपालिकाको अनुदानमा राष्ट्रिय माबि ढकाडामकोटमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिए । तर उनको पनि करार नविकरण नगर्ने भनेपछी उनले हिजो राजिनामा दिएको बताएका छन । “म सँगै गाउँपालिकाले करारमा राखिएका अन्य माबिका सबैको करार नवीकरण भयो।” उनले भने “तर मेरो मात्र नवीकरण नगरेर परिक्षा बनाउने भनियो । मलाई परिक्षा गरेर हटाउने षड्यन्त्र भएपछि मैले राजिनामा दिए ।”

गाउँपालिका अध्यक्ष अरुणले दाइ गणेशमान सिंह सँगको राजनीतिक विवादको प्रतिशोध आफुहरू माथी साँधेको उनले बताए । तर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले भने कार्यालय सहयोगी सरुवा गर्ने काम कार्यालयको आन्तरिक मामला भएको र कार्य सम्पादन हेर्न केही समयको उनलाई गाउँपालिकाको कार्यालयमा सरुवा गरिएको बताए ।

जागिरमा सधैं घरपायक नहुने बताउदै, राजनीतिक प्रतिशोधले सरुवा गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको उनको भनाइ छ ।

समर्थकहरू पनि बाजबाज

नेता अरुण र गणेशमान सिंहको विवादमा उनिहरूका समर्थकहरू पनि सामाजिक संजालमा बाजाबाज गरिरहेका छन । उनिहरू मध्ये अरुणका समर्थकहरूले गणेशमान राजनीतिक प्रतिशोधले गापा र अध्यक्ष अरुणलाई आरोप लगाएको भन्दै गणेशमानले प्रमाण सहित आरोप पुष्टि गर्नुपर्ने बताएका छन भने गणेशमानका समर्थक र स्वतन्त्र नागरिकहरूले उक्त आरोपहरूको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन ।