कृषकको घरदैलोमा पुग्ने अभियानलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स
सल्यान २८, साउन । कृषकलाई बीमाको दायरामा ल्याउने अभियानअन्तर्गत एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाले बिहिवार त्रिवेणी गाउँपालिका–५ स्थित वडा कार्यालयमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले कम्पनीले विगत केही वर्षदेखि गाउँ–गाउँ तथा कृषकको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाबारे जानकारी दिने अभियान सञ्चालन गर्दै आएको र यस अभियानले सकारात्मक तथा प्रभावकारी परिणाम दिन थालेको बताउनुभयो। उहाँले कृषकलाई जोखिम व्यवस्थापन तथा आर्थिक सुरक्षाको माध्यमका रूपमा बीमाको महत्व बुझाउँदै अधिकतम कृषकलाई बीमाको पहुँचमा ल्याउन कम्पनी निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी गाउँपालिका–५ का वडा अध्यक्ष बिमल रावतले उपस्थितहरूलाई कार्यक्रममा प्राप्त बीमा सम्बन्धी जानकारी तथा सचेतनालाई टोल–टोलसम्म पुर्याई कृषकहरूलाई बीमाको महत्व बुझाउन आग्रह गर्नुभयो। उहाँले कृषि तथा पशुपन्छी बीमाका लागि नेपाल सरकारले बीमा शुल्कमा प्रदान गर्ने ८० प्रतिशत अनुदानको लाभ लिन कृषकहरूलाई अनुरोध गर्नुभयो। कृषि तथा पशुपन्छी बीमा कृषकका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य विभिन्न जोखिमबाट हुने क्षतिको अवस्थामा बीमाले कृषकलाई ठूलो राहत प्रदान गर्ने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका शाखा प्रमुख अनुराग बोहराले सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको जवाफ दिँदै कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया, बीमाको आवश्यकता तथा यसको महत्वबारे विस्तृत जानकारी गराउनुभयो। विशेषगरी पशुधन बीमालेख तथा कृषि बीमा अन्तर्गत खाद्यबाली बीमालेख, तरकारीबाली बीमालेख, फलफूल तथा अन्य कृषि उत्पादन सम्बन्धी बीमाका विषयमा विस्तृत छलफल गरिएको थियो। कृषकहरूले बीमा गर्दा अपनाउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, बीमाबाट प्राप्त हुने लाभ तथा दाबी भुक्तानी प्रक्रियाका बारेमा समेत जानकारी लिएका थिए।
कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको ALIS System सम्बन्धी जानकारी दिँदै बीमालेख जारी तथा दाबी भुक्तानी पनि ALIS System बाट मात्र हुने व्यवस्था रहेको बताइएको थियो। यस प्रणालीले बीमा प्रक्रियालाई थप पारदर्शी, सरल तथा प्रभावकारी बनाएको जानकारी समेत गराइएको थियो।
शाखा प्रमुख बोहराले हाल नेपाल सरकारले कृषकलाई उपलब्ध गराउँदै आएको बीमा शुल्कमा ८० प्रतिशत अनुदानको व्यवस्था यथावत् रहेको उल्लेख गर्दै कृषकहरूले यस अवसरको अधिकतम लाभ लिनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारी अनुदानको सुविधासँगै कृषकलाई बीमाको दायरामा ल्याउन आफू तथा कम्पनी निरन्तर रूपमा खटिरहेको र आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा त्रिवेणी गाउँपालिका–५ का विभिन्न टोलबाट प्रतिनिधित्व गर्दै ४३ जना कृषक तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कृषि तथा पशुपन्छी बीमासम्बन्धी आफ्ना जिज्ञासा, समस्या तथा सुझावहरू प्रस्तुत गरेका थिए भने कार्यक्रम निकै उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका थिए। साथै, अब आफूहरू पनि बीमाको दायरामा आउने बताएका थिए।
कार्यक्रम सञ्चालन सूर्यज्योति लाइफ इन्स्योरेन्सका सल्यान शाखा प्रबन्धक भरत रोकायले गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य रत्नकुमारी बोहरा, वडा सदस्यहरू क्रमशः धर्मबहादुर घर्ती, गौरी बि.क., लिलामणि गिरी, वडा सचिव देवराज बि.क., टेकमाइन्ड नेटवर्कका कर्णाली प्रदेश प्रमुख सङ्गम बिहानी, सामाजिक अभियन्ता ज्ञानेन्द्र पुन, टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर बोहरालगायत जनप्रतिनिधि, सरकारी कर्मचारी तथा स्थानीय अगुवाहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, जनप्रतिनिधि, कर्मचारी तथा सहभागी कृषकहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि कृषकको घरदैलोमै पुगेर बीमा सचेतना अभिवृद्धि गर्ने तथा अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्