किसान बलियो भए भने मात्र सल्यान बलियो हुन्छ : शाह

किसान बलियो भए भने मात्र सल्यान बलियो हुन्छ : शाह

सल्यान २३, माघ। आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट सल्यानका उम्मेदवार गुलाबजंग शाहले “किसान बलियो भए भने मात्र सल्यान बलियो” हुने बताएका छन ।

शुक्रबार बिहान आफ्नो फेसबुक पेज बाट सन्देश दिदै उनले किसान र कृषि क्षेत्रलाई समृद्धिको आधारका रूपमा अघि सारेका छन् । किसान सबल भए मात्र सल्यान समृद्ध बन्न सक्ने उनको धारणा छ ।

शाहका अनुसार दार्मा खोला, मर्मखोला, संग्रही खोला, दारिमज्युला र शारदा नदी आसपासका समथर फाँटाहरू सल्यानका अमूल्य सम्पत्ति हुन् । ती उर्वर फाँटाहरूले जिल्लाको खाद्यान्न उत्पादन, भान्साको सुरक्षा र समग्र खाद्य सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएको उनले बताएका छन ।

ठूलो सम्भावना हुँदाहुँदै पनि सिँचाइ सुविधाको अभावका कारण किसानले अपेक्षित उत्पादन लिन नसकेको उल्लेख गर्दै शाहले व्यवस्थित र दिगो सिँचाइको आवश्यकता औंल्याएका छन । “यदि यी फाँटहरूमा पर्याप्त सिँचाइ सुविधा पुर्‍याउन सकियो भने उत्पादन दोब्बर हुन्छ, किसानको आम्दानी बढ्छ, युवाले आफ्नै गाउँमा रोजगारी पाउँछन् र सल्यान आत्मनिर्भर बन्छ,” उनले लेखेका छन ।

शाहले आफू २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि दार्मा गाउँपालिका–३ लगायतका क्षेत्रमा सिँचाइ योजना अघि बढाएको स्मरण गर्दै ती योजनाका कारण अहिले किसानको खेतको उत्पादकत्व बढेको सुन्दा आफूलाई खुसी लागेको बताएका छन ।

निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै शाहले अब सम्भावनालाई परिणाममा बदल्ने समय आएको बताए । उनले मतदातालाई भावनामा होइन, विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै सल्यानको माटो, किसानको पसिना र उज्यालो भविष्यका लागि आफ्नो सल्यानबासीलाई साथ दिन अनुरोध गरेका छन ।