May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा ‘ल्याब सेवा’ : स्थानीय खुसी

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा ‘ल्याब सेवा’ : स्थानीय खुसी

असोज २७, सल्यान ।

प्रयोगशालामा विभिन्न स्वास्थ्य उपकरणहरु जडान भएपछी सल्यानको लेखपोखराबाटै रगत, दिसापिसाब र खकारको नमुना परिक्षण सेवा सुचारु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराको प्रयोगशालामा ‘हेमाटोलोजी’ र ‘बायोकेमिस्ट्री सेमीअटो एनालाईजर’ मेसिन संगै ल्याबलाइ आवश्यक केमिकलहरुको व्यवस्थापन गाउँपालिकाले गरेपछी ल्याब सेवा सुचारु भएको हो । आफ्नै गाउँठाउँमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने तथा ल्याब सेवाको पहुँच अभिवृद्धि गर्न आफुहरु लागिपरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल, श्रीनगर, दांग लगायतका ठाउँमा धाउनु पर्ने लेखपोखरा क्षेत्रका बिरामीलाई सहज भएको छ ।

कुनै पनि रोगको निदान गर्नका लागि ल्याबको रिपोर्टको अध्यन महत्वपुर्ण भएकाले अब निकै सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर निशा आचार्यले जनाइन् । गाउँपालिकाले रगतका अवयवहरूको विस्तृत रूपमा परीक्षण गर्ने उपकरण हेमाटोलोजी एनालाइजर(थ्री पार्ट) र विभिन्न जैविक नमुनाहरुको परिक्षण गर्न बायोकेमिस्ट्री सेमीअटो एनालाईजर मेसिन जडान संगै आवश्यक केमिकलहरुको व्यवस्थापन गरिदिएको वरिष्ठ ल्याब असिस्टेन्ट रेग बहादुर पुन मगरले जानकारी दिए ।

प्रयोगशाला संगै प्राथमिक स्वास्थ्य केन्द्र र यहाँको स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा निर्माणाधीन १५ शैया अस्पताल भवनको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुगमन, निरीक्षण समेत गरेका छन् । नागरिकको स्वास्थ्य प्रती आफुहरु संवेदनशील रहेको भन्दै अध्यक्ष बुढाथोकीले उच्च मनोबलका साथ भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ अनुरोध गरे । उनले ल्याब सेवाका लागि आवश्यक बिद्युत ब्याकपको व्यवस्थापनमा पनि पहल गर्ने बताए ।

ल्याब सेवा सुचारु भएसंगै अव लेखपोखरामै सुगर, जन्डीस, कोलेस्ट्रोल, युरिक एसिडको परिक्षण हुने छ । यस्तै यहाँको ल्यावबाट गर्भवति जाँच संगै मलेरिया (औलो), डेंगु, एचआईभी, हेपाटाईटिस बी, भिरिंगी, हेमोग्लोबिन, टाईफाईड, टीबी, ब्लड ग्रुप परिक्षण हुने छ भने दिसा, पिसाव, खकारको नमुना परिक्षण सेवा प्रदान हुने वरिष्ठ ल्याब असिस्टेन्ट ओउनले जनाए । उनका अनुसार एक जना ल्याब टेक्निसियन सम्मको जनशक्ति व्यवस्थापन भएमा ल्याब सेवा झनै प्रभावकारी हुनेछ । गाउँमै ल्याब सेवा, डाक्टरको व्यवस्था भएपछी स्थानियहरु खुसी छन् । स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिले ल्याब सेवा बापतको सामान्य शुक्क निर्धारण गर्नेछ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज