फेरिँदै जीवनशैली

फेरिँदै जीवनशैली

काठमाडौं : विभिन्न विद्युुतीय सामग्रीले नेपालीको जीवनशैली फेरिन थालेको छ। होम अप्लाइन्सको उत्पादन बढेसँगै अधिकांश नेपालीका घरमा यसको उपयोग बढ्न थालेको छ। फ्रिज, टीभी, एसी, भ्याकुुम क्लिनर, वासिङ मेसिन, थर्मस, टिफिन बक्स, खाना पकाउने मेसिन,

पानी तताउने किट्लीलगायत इलेक्ट्रोनिक सामानले नेपालीको जीवनमा सहजता ल्याएको हो। मानिसको दैनिकी पनि सहज बन्दै गएको छ। वैदेशिक रोजगारीबाट फर्केका अधिकांशले टीभीलगायत विभिन्न इलेकट्रोनिक सामान ल्याउने गर्छन्। हालै वैदेशिक रोजगारीबाट फर्केका रोल्पाका ओजबहादुर बुढाले टीभी र पानी तताउने किट्ली लिएर आए। ‘कोभिड–१९ को संकटमा पनि घर आउँदा केही न केही उपहार ल्याउँ भन्ने सोचले टीभी र किट्ली ल्याएको हुँ’, उनले भने। विदेशबाट घर आउँदा प्रायःजसोले केही न केही इलेक्ट्रोनिक वस्तु उपहारस्वरुप ल्याउने गरेका छन्। बानेश्वरका सुन्दर शाहले गत वर्ष दसैंमा टीभी किने। यसपाली स्मार्ट फ्रिज किन्ने योजना बनाए पनि कोरोनाका कारण किनिसकेका छैनन्। ‘रहर जागेको छ तर अझै किन्ने योजना बनिसकेको छैन’, उनले भने, ‘केही दिनभित्र फ्रिज ल्याउने योजना छ।’

आम्दानी र आवश्यकता बढेकाले उनले साधारण फ्रिज हटाएर स्मार्ट फ्रिज किन्ने योजना बनाए पनि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण उनले किन्ने योजना पूरा गर्न सकेका छैनन्। कलंकी निवासी प्रकाश केसीले यसपालिको दसैंमा भ्याकुुम र वासिङ मेसिन किनेका छन्। कोभिड सहज भएसँगै उनले भ्याकुुम क्लिनर र वासिङ मेसिन किनेका हुन्। विगतमा उनले टीभी, फ्रिज जोडिसकेका छन्। उनी भन्छन्, ‘होम अप्लाइन्सले जीवन धेरै सहज बनाउँछ, प्रत्येक वर्ष आवश्यकता थपिँदै गएको छ।’

बानेश्वर र कलकींका शाह र केसी मात्र होइन अधिकांश नेपालीलाई अत्यावश्यक बन्न थालेको छ होम अप्लाइन्स। पछिल्लो समय इलेक्ट्रोनिक सामानले सजिलो र सुविधा दिएको छ। प्रविधिको विकाससँगै नेपालीको आवश्यकता बढ्न थालेको हो। खासगरी सहरी क्षेत्रमा होम अप्लाइन्सको प्रयोग दिनानुुदिन बढ्दै छ। ग्रामीण क्षेत्रमा पनि टीभी र साधारण फ्रिज प्रयोग गर्नेको संख्या पनि उल्लेख्य छ।

होम अप्लाइन्स मान्छेको दैनिकीसँग प्रत्यक्ष जोडिएको छ। घरमा आवश्यक पर्ने इलेक्ट्रोनिक सामान उपयोग गर्नेको संख्या दिनानुदिन बढ्दै गएको देख्न सकिन्छ। आफ्नो गच्छेअनुसार सामान्यदेखि महँगो पर्ने वस्तु उपयोग गर्ने क्रम सुरु भएको व्यवसायी बताउँछन्। तर, यसपाली विश्वव्यापीरुपमै सहज परिस्थिति छैन। कोरोना भाइरसका कारण मान्छेले चाहेर पनि खरिद गर्न सकिरहेको छैनन्। केहीले भने घरमा काम गर्नेलाई हटाएर इलेक्ट्रोनिक सामानको सहायताले जीवन सहज बनाइरहेका छन्।