ठूलीभेरीमा खसेको टिप्पर भेटियो, मान्छे भेटिएनन

ठूलीभेरीमा खसेको टिप्पर भेटियो, मान्छे भेटिएनन

काठमाडौ श्रावण ७।

हिजो (मंगलबार) साँझ ठूलीभेरी नदिमा खसेको यति बिल्डर्सको टिप्पर भेटिएको छ ।

भेरी कोरिडोर अन्तर्गत आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित सडकबाट खसेको टिप्पर घटनास्थल भन्दा करिब चार सय मिटर तल ठुलीभेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ॠषि पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिप्परमा रहेको तीन जनाको अवस्था भने अझैसम्म अज्ञात रहेको छ । उनीहरु नदिमै बेपत्ता भएको अनुमान रहेको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्ट सहितको टोली रहेको छ ।

अहिले नदीमा देखिएको टिप्पर निकाल्नका साथै बेपत्ताहरुको खोजी कार्य भईरहेको छ । टिप्पर जाजरकोट पट्टीको भागमा फेला परेको हो ।

हिजो साँझ आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी करिडोर सडकखण्डबाट ठुलीभेरी नदीमा खस्दा चालक सहित तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनेहरुमा टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति विल्डर्सका जेसिबि चालक रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का धनबिर बिक र हेल्पर रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ का हरि बिक रहेको प्रहरीले जनाएको छ ।