बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गङ्गाप्रसाद ढकालको बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

बाँदर धपाउन गएका ढकाललाई विद्युतको पोलमा प्रवाह भएको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा करेन्ट लागेर ढकालको मृत्यु भएको हो । उनी परिवारसहित घर नजिकैको बारीमा मकै गोड्न गएका थिए ।

जङ्गलबाट हुल बाँधेर आएको बाँदर बारीमा प्रवेश गरेपछि खाली खुट्टा धपाउन जाँदा उनलाई करेन्ट लागेको हो ।

विद्युत् प्राधिकरणको लापरबाहीले ढकालको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।
घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।