नेकपा (बहुमत) जिल्ला सेक्रेटरी खड्का पक्राउ: यथाशीघ्र रिहाइ नगरे प्रतिरोध गर्ने चेतावनी
दाङ पौष १८
धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
जनता सँग छलफल गरिरहेको अवस्था खड्कालई घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाट बुधबार पक्राउ गरेको हो।
सुदखोर र मिटर ब्याजीको आरोपमा मंसिर ६ गते घोराही उपमहानगरपालिका -१५ बिपी चोकनजिकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेत लगायत सहकारी ठगिहरुलाइ खड्का नेतृत्वको समूहले जनकारबाही गरेको थियो। उक्त कारबाही गर्दा उनी माथि दुर्ववहारको आरोप लागेको थियो ।
त्यसअघि असोज २९ गते नेकपा (एमाले) दाङका जिल्ला सल्लाहकार सदस्य घोराही उपमहानगरपालिका- १४ लखन पार्क बस्ने दुर्गा पन्थमाथि कालो मोसो दलि जनकारबाही गरेको उनको पार्टी र उनीमाथि आरोप थियो।
दुवै घटना पछि नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले प्रेस विज्ञपति जारी गर्दै घटनाको जिम्मा नेकपा (बहुमत) दाङले लिएको जानकारी गराएका थिए।
त्यही बखत देखि प्रहरीले उनी र उनको पार्टी माथी निगरानी बढाएको थियो।
तर यी दुवै घटनाका पीडितले कसैका विरूद्ध किटानी जाहेरी भने दिएका छैनन् । तर प्रहरीले पीडितहरूलाई जिल्ला सेक्रेटरी खड्का लगायतका नाममा किटानी जाहेरी दिन आग्रह गर्दै आएपनि उनीहरूले हालसम्म जोहरी भने दिएको पाएको छैन।
तर उनलाई गृह प्रशासनले पुर्वाग्रह ढंगले गिरफ्तार गरि अज्ञात बनाएको पार्टीले आरोप लगाएको छ । पार्टीले खडकालाइ यथासिघ्र रिहाई गर्न अपिल गर्दै तुरुन्त रिहाइ नगरे सशक्त संघर्ष गर्ने पार्टीले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
बिज्ञप्तिको पुर्ण पाठ यस्तो छ।
हाम्रो पार्टीका दाङ जिल्ला सेक्रेटरी कमरेड अमरलाई जनता सँग छलफल गरिरहेको अवस्थामा नेपाल सरकारको गृह प्रशासनले हिजो (२०८१ पुस १७ गते) दाङ जिल्लाबाट गिरफ्तार गरी अज्ञात ठाउँमा राखेको सूचना प्राप्त भएको छ । उहाँको विनासर्त रिहाइको लागि हाम्रो पार्टी जोड्दार माग गर्दछ।
सबैलाई जगजाहेर नै छ कि हाम्रो देशमा जनताहरु बैंकको शोषण, मिटरव्याज, लघुवित्त र सहकारीको चरम लुटपाटवाट प्रताडित छन् । सर्वसाधारण जनताले सहकारीमा जम्मा गरेको रकम राजनीतिक पार्टी र नोकरशाहरुबाट पदको दुरुपयोग गरी अपचलन गरिएको छ। लघुवित्त र मिटरव्याजको रुपमा परिचालित रकमलाई ऋणीहरुको घरवास, जमिन र अन्ने निजी सम्पत्ति लुटपाट गर्ने साधन बनाईएको छ । जसबाट कैयौं मानिसहरु आत्महत्या गर्न वाध्य भएका छन । यो सबै हुनुमा राज्य सक्ता र यस्को वित्तीय आतंक फैलाउने निति नै जिम्मेवार छ। वित्तीय संस्थाहरुका पीडितहरुले गरेका आन्दोलनमा सरकारले पटक पटक सहमति गरेको छ । नियम कानुनहरु पनि बनाइएका छन। तर ती केवल जनताको आक्रोशलाई निस्तेज गर्दै ऋणीहरुलाई अदालती मुद्धाको झमेलामा फँसाउने र लुटको संसारलाई खुला गर्ने उद्देश्यमा आधारित रहेका छन् ।
सरकारी लगानीमा राष्ट्रिय उद्योग संचालन गरी उचित रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकास गर्नुको विपरित वित्तीय लगानी मार्फत दलाल पूँजी आर्जन गर्ने राज्यको दलाल पूँजीवादी आर्थिक नीतिका कारण यसप्रकारको उत्पीडन व्याप्त बन्दै आएको छ। नेपाली जनताले यो नीतिका विरुद्ध बारम्बार संघर्ष गर्दै आइरहेका छन् । तर नेपालका एकाधिकारवादी वित्तीय माफियाहरुले जनताको राजकीय प्रवन्धकालागि हुनु पर्ने “सरकार” र “नोकरशाही प्रणाली “लाई उनिहरुको वित्तीय “सिन्डीकेट” र “कर्टेलमा” बदल्दै जनताका विरुद्ध नीतिगत जालझेल गर्दै आएका छन् ।
अत: हाम्रो पार्टीले यसप्रकारको रवैयाका विरुद्ध प्रतिरोध गर्न र त्यसप्रकारका मिटरव्याजी वित्तीय माफियाहरुमाथि जनकार्वाही गर्न सर्वसाधारण जनतामा अपिल गरिरहेको छ। सोही वमोजिम दाङ लगायत देशका विभिन्न ठाउँमा जनताले आफ्नै पहलकदमीमा जनकार्वाहीहरु संचालन गर्दै आइरहेका छन् । दाङमा भएका केही जनकार्वाहीहरुलाई त्यहाँको जिल्ला समितिले जनताको तर्फबाट जिम्मा लिएको कारण पार्टीका सेक्रेटरी कमरेड अमरलाई गिरफ्तार गरिएको प्रष्ट छ। कमरेड अमर लाई यथाशीघ्र रिहाइ गर्न हाम्रो पार्टी सम्बन्धित निकायसँग जोडदार माग गर्दछ। यदि हाम्रो मागलाई बेवास्ता गरेको खण्डमा हाम्रो पार्टीले थप संघर्षका कार्यक्रमहरु घोषणा गरी आमरुपमा सशक्त प्रतिरोध गर्ने कुरा पनि यसै विज्ञप्ति मार्फत जानकारी गरिन्छ ।













लेखकको सम्वन्धमा