कपुरकोट कृषि सहकारी संस्थाले ‘कोशेली घर’ बनाउदै
सल्यान पौष १३
सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीम ३ करोड बढी रकम लगानी गरेको छ।
संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले कृषि क्षेत्रमा ३ करोड ३१ लाख ३१ हजार ५५१ रुपैया लगानी गरेको हो ।
शनिबार कपुरकोटमा आयोजित १७ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष मधुसूदन गिरिले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ मा ५८ लाख ९२ हजार ७२५ रुपैया आम्दानी गरेको उल्लेख गरे । यसमध्ये ३५ लाख ७७ हजार २५९ रुपैया कपुरकोट कृषि सहकारी संस्थाको एक बर्षको अवधिमा खर्च भएको छ भने खुद नाफा २३ लाख १५ हजार ४६६ रुपैया रहेको छ ।
सहकारीको कुल पुजि ३ करोड ६८ लाख ७७ हजार ६०५ रुपैया रहेको अध्यक्ष गिरीले बताए । गत आर्थिक बर्षमा सहकारीले १ करोड ४८ लाख ५० हजार ३३१ रुपैया निक्षेप संकलन गरेको थियो भने १ करोड २३ लाख २० हजार १६६ रुपैया वचत फिर्ता गरेको छ ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुती सहित सहकारीले गरेको प्रगति र आगामी योजनाबारे जानकारी गराइएको थियो ।
यस्तै कपुरकोट कृषि सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारमा प्रर्वदन गर्ने उद्देश्यसहित ‘कोशेली घर’ निर्माण गर्ने भएको छ । कपुरकोट क्षेत्र कृषि उत्पादनमा सम्पन्न क्षेत्रमध्ये एक हो ।
अचार, जुस, क्यान्डी बनाउनका लागि तालिम समेत संचालन गर्ने र यहाँका कृषकहरूले उत्पादन गरेको तरकारी, दुग्धजन्य सामग्री, मह, अचार, मसला र अन्य स्थानिय उत्पादन बिक्री वितरण र बजार प्रर्व्वदनका लागि कपुरकोट कोसेली घर संचालनको योजना सहकारीले अघि सारेको हो ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले सहकारीले अघि सारेको योजना कोसेली घर संचालनका लागि परामर्श गर्ने बताए । यस्तै कपुरकोट कृषि सहकारी संस्था अब्बल तरिकाले संचालन भइरहेकोमा प्रसंशा गर्दै उनले सहकारीको माध्यमबाट आर्थिक प्रगति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष प्रदिप खड्का, ४ का वडा अध्यक्ष मित्रलाल कठायत, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य घनश्याम शर्मा, उद्योग वाणिज्य संघ सल्यानका उद्योग उपाध्यक्ष पलवीर नेपाली, लगाएको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै सहकारीले सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहभागिहरुको छ ।
२०६५ सालमा स्थापना भएको कपुरकोट कृषि सहकारी संस्थामा १२५६ सदस्य आवद्ध छन् ।










लेखकको सम्वन्धमा