म सहिदको छोरा
कविता
✍️तेज बिक्रम वलि
सुनसान रातको अन्धकारमा
तिमिलाई सम्झिदा,
आँखाको डिल सम्म टिलपिलाएका
मेरा आँसु कहिले बर्बर बर्सिन्छ्न तर रोक्छु!
बा!
तपाईंलाई बहादुर नायक भन्छन तर
तपाईंको अभावले मेरो संसारलाई फिक्का बनाउँछ!
कहिल्यै राम्रोसँग चिन्न नसकेको एउटा धुलमिल अनुहार,
पुरानो एल्बमको धुलो टक्टकाउदै,
एकदिन दिदीले भन्नु भएको थियो,
बाबु यिनै हुन हाम्रा बा हेर त!
त्यस दिन देखि….. मेरो मन र मस्तिष्कमा गहिरोसँग खोपिएको छ बा ! तपाईंको तस्बिर !!
हामीलाई अनकन्टार रातमा एक्लै छोडि गरेको त्यो संघर्ष बलिदानलाई कसरी बुझौं म ?
जबकी विद्रोह सगै मायाको भोक मेरो अंगअंगमा रक्तसञ्चार भै रहन्छ !
मेरो साथीहरूसँग खेलौना छ!
आलिसान महल छ!
गाडी घोडा र पजेरो छ!
थ्री स्टार फाइप स्टारमा लन्च डिनर गर्छन !
मैले यी मागेकै हैन…छैन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार
के म यी आधारभुत चीजहरूको पनि हकदार छैन र??
मेरा साना-साना इच्छाहरू पनि,
किन सबैभन्दा ठूला बोझ बन्दिन्छन?
मलाई माफ गर बा!
मेरा अभाव र पीडामा
तिम्रा स्वाभिमानका गाथा बोल्न सकेनन्!
मैले के नै मागेको थिए र ?
भोको पेटले एक छाँक खाना!
एकसरो नाना र रात बिताउन छाना !
मैले नसके पनि तिम्रा सहकर्मी
अहिले नेता बनेका छ्न
अस्ति उनले सहरको ठूलो र्यालिमा
“विर सहिद अमर रहुन”
भन्दै नारा लगाउदै थिए !
उनैले हो क्यारे
हामी सहिदका सपना पुरा गर्नेछौं भन्दै चर्को भासण गरेको पनि!
तर आज २० औ बर्ष भयो
बर्षहरु फेरिए पनि भाषण उहीँ छ !!
देशले तपाईहरूको बलिदानलाई सम्मान गर्यो,
तर म र जस्ता भोकाको समस्या समाधान गर्न सकेन !
अहिले मेरो हातमा केवल वीरताको गाथा शिवाय अरु केही छैन बा!
तपाईंको निडर संघर्षका कथा सुन्छु,
मेरो यो मानसपटलले तपाईंको माया न्यानो स्पर्श र मार्गदर्शन खोज्छ!
बेचैन छन मेरा चाहाना र सपनाहरू
तपाईंले दिएको अधिकार र आशा,
आजको अँध्यारोमा कतै हराए जस्तो लाग्छ!
गाँउवस्तीहरू उज्याला छन
तर म अन्धोझैँ महसुस गर्छु!
मेरो मौन चीत्कार कसले सुन्छ?
जसले राष्ट्रलाई पीडाबाट मुक्त गरे,
ब्यवस्था बदल्न लडे मरे
आफुलाई बलिदान गरे
पारिवारिक सुख सयल त्यागे
उनका सन्ततिलाई रङ्गीचङ्गी भाषणले मात्रै पुग्छ ?
चिल्ला भाषणले मेरो थाल भरिएन, बाबा!
बा !
तपाईंको बलिदान व्यर्थ भएन भन्छन्,
तर मेरो भविष्य हरेक दिन खाली जस्तो लाग्छ!
मेरो मनमा आगो बल्छ!
एक आशा, एक शक्ति,
जुन म चाहेरपनि दमन गर्न वा दबाउन सक्दिन!
म तपाईंको रगत हुँ!
तपाईंको संघर्ष र सपनालाई
जिवनभर पच्छ्याईरहनेछु!
अन्धकार रातमा चम्किने एक प्रकाश बनेर,
सहिदको छोरो कहिल्यै झुक्दैन,
निराशा वा हारको बाबजुद पनि,
बा! म यो वाचा गर्छु कि!
तपाईंको दृष्टि मेरो आत्मामा बाँचिरहनेछ!
तपाईंले देखेको संसार प्रकट गर्न
म हरदम लागिरहने छु!
यी पीडाका आँसु चाँडै प्रज्वलित हुनेछन
क्रान्तिकारीका लागि न्यायको आशा
भोलिकालागि क्रान्ति दीप बन्न सक्छ
हरेक आँसु एकदिन क्रान्तिको बीउ बन्नेछ!
एकदिन सुनौलो बिहानीको उदय अवस्य हुनेछ !!
म सहिदको छोरा !!









लेखकको सम्वन्धमा