थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग गर्ने छत्रेश्वरी गाउँपालिको निर्णय
सल्यान मङ्सिर २१
सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिका भित्रका स्नातकोत्तर तहमा थेसिस (सोधपत्र) लेख्ने विद्यार्थीलाई नगद रकम सहयोग गर्ने भएको छ ।
गाउँपालिका भित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्नका लागि पालिकाभित्रका विद्यार्थीले पालिकाभित्रको कुनै पनि क्षेत्रसँग सम्बन्धित विषयमा थेसिस गरेमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
थेसिस सहयोग मार्फत स्थानीय अनुसन्धान र ज्ञानको विकासलाई अगाडि बढाउने उद्देश्य अनुरुप कार्यपालिका बैठकबाट यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए ।
छत्रेश्वरी गाउँपालिका भित्रका कुनै पनि विद्यार्थीले मास्टर्स डिग्री गर्दा पालिकासंग सम्बन्धीत विषयमा सोधपत्र लेख्नका लागि प्रक्रिया अनुसार आवेदन दिएमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको प्रवक्ता बस्नेतले बताए ।
सहयोगका लागि पालिका भित्रका स्थायी बासिन्दा रहेका विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन् । उनीहरूले आफ्नो थेसिसको शीर्षक, उद्देश्य, र प्रस्तावना सहित गाउँपालिकामा आवेदन दिनुपनर्ने छ ।
गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राखेर स्थानीय युवा विद्यार्थीको क्षमतामा सानो भएपनि लगानी गर्ने निर्णय गरेको र यसले समुदायको विकासमा युवा पुस्ताको सीप र ज्ञानलाई यहाँको आवश्यकता अनुरूप उपयोग गर्न यस कार्यक्रमले ठूलो भूमिका खेल्ने अपेक्षा गरेको उनले बताए ।
पालिकाको यो निर्णयले विशेष गरी निम्न आर्थिक पृष्ठभूमिका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा मिल्ने र विद्यार्थीले गर्ने अनुसन्धानले गाउँपालिकाको नीति निर्माण,कार्यक्रम , विकास योजना, र अन्य स्थानीय समस्याहरूको समाधानमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको सम्वन्धमा