राष्ट्रपति युन सुक योल द्वारा दक्षिण कोरियामा सैन्य शासन लागु
काठमाडौ मङ्सिर १८
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् ।
मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको बताएका छन् ।
देश विरोधी तत्वलाई ठिक पार्न यसका अलावा अरु कुनै विकल्प नरहेको राष्ट्रपति योलले बताएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनले सैन्य शासन कहिलेसम्म रहन्छ भन्ने चाहिँ बताएका छैनन् ।
राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको छ ।
सेनाले कुनै पनि किसिमको राजनीतिक भेला वा सामाजिक रुपमा ‘भ्रम’ फैलिने गतिविधि गरे वारेन्टविनै जोकोही पक्राउ पर्न सक्ने समेत भनेको छ ।
स्थानीय समाचार संस्थाहरुलाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘संसद् सदस्यहरुलाई अहिले संसद् भवनमा प्रवेश गर्न पनि रोक लगाइएको छ ।’
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा राजधानी सियोलमा रहेको संसद् भवन बाहिर सुरक्षा तैनाथी बढाइएको देखिन्छ ।
लेखकको सम्वन्धमा