रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु
रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर एउटै गाउँका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार ढिस्कोले पुरिएर सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम परियार, ४० वर्षकी सुवित्रा परियार र २७ वर्षकी आइती परियारको मृत्यु भएको हो ।
ढिस्कोमा अरू पनि पुरिएको आशङ्कामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
पुल निर्माणका लागि खाल्डो खनेर खाल्डोभित्र पर्खाल लगाउने क्रममा ढिस्को झरेको प्रहरीले जनाएको छ ।
लेखकको सम्वन्धमा