दाङमा बर्सेनि तोरी उत्पादनमा वृद्धि हुँदै

दाङमा बर्सेनि तोरी उत्पादनमा वृद्धि हुँदै

दाङ मङ्सिर १०।

दाङमा यसपटक तोरी उत्पादनमा वृद्धि अनुमान गरिएको छ । तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि वृद्धि गएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो ।

उक्त तोरीखेती बाट १६ हजार नौ सय ४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष १६ हजार चार सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार आठ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले  किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।