दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुदा जलेर नष्ट

दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुदा जलेर नष्ट

दाङ श्रावण १३।

दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो सल्किए पछि जलेर नष्ट भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आगलागी भई जलेर नष्ट भएको हो ।
आइतवार विहान लमही नगरपालिका–९ चाउखोला नजिकको जंगल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा चलिरहेको गाडीमा आफै आगो लागेको भन्ने देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भने,‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाले छ ।’ ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका–२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् ।