आमाको मुख हेर्ने दिन र आमाको सम्झना
नेपाली संस्कृतिमा “आमाको मुख हेर्ने दिन” अथवा “मातातीर्थ औंसी” एउटा अत्यन्त पवित्र र भावनात्मक चाड हो, जुन हरेक वर्ष वैशाख महिनाको कृष्ण औंसी तिथिमा श्रद्धा र प्रेमपूर्वक मनाइन्छ। यो दिन आमाप्रति विशेष श्रद्धा, स्नेह र सम्मान प्रकट गर्ने दिनको रुपमा स्थापित छ। यस दिनले नेपाली जनजीवनमा मायालु सम्बन्ध, आदरभाव र संस्कारको गहिरो महत्व उजागर गर्दछ।
आमा — यो शब्द आफैमा एक अमृत जस्तै हो।
जब बालक जन्मिन्छ, उसले सबैभन्दा पहिला जसको काखमा शरण लिन्छ, त्यो आमा हो। उसलाई संसारको पहिलो भाषा सिकाउने, स्नेहको पहिलो स्वाद चखाउने, जीवनको पहिलो पाठ पढाउने व्यक्ति आमा नै हुन्। आमा मात्र एक नारी नभई प्रेम, त्याग, सेवा र ममता को साक्षात् प्रतिक हुन्।
मातातीर्थ औंसीको महत्त्व
मातातीर्थ औंसीको धार्मिक र सांस्कृतिक महत्व अति गहन छ। पुराणहरूमा उल्लेख अनुसार, यस दिन दिवंगत आमाको सम्झनामा मातातीर्थ नामक पवित्र तीर्थस्थलमा स्नान गरी पूजा–अर्चना गर्नाले पुण्य प्राप्त हुने विश्वास छ। जीवित आमालाई उपहार दिई, उनको मुख हेरी, मीठा परिकार खान दिई आशिर्वाद लिने परम्परा पनि प्रचलित छ। जहाँ आमालाई प्रेमसाथ सम्झेर उनीप्रति कृतज्ञता व्यक्त गरिन्छ।
यदि आमा जीवित छैनन् भने, सन्तानहरूले मातातीर्थ गएर स्नान गर्दछन्, पितृलाई तर्पण चढाउँछन् र दिवंगत आमाको आत्माको शान्तिको लागि प्रार्थना गर्दछन्। यस दिनलाई मृत्यु पश्चात् आमालाई सम्झने विशिष्ट अवसरको रुपमा पनि लिइन्छ।
आमाको माया : एक अथाह सागर
आमाको माया त यस्तो हुन्छ, जसमा कुनै स्वार्थ हुँदैन। उनले सन्तानको सानो पीडा पनि आफैमा समेट्छिन्। सन्तान भोकै रहेछ भने, आफूले मुखमा अन्न नराखी पनि उसलाई खुवाउन पछि पर्दिनन्। हिउँदको कठ्यांग्री चिसोमा आमा आफ्नो न्यानो शरीरले बालकलाई ढाकेर राख्छिन्।
“आमाको सम्झना
आमा तपाईं स्वर्ग आरोहण हुनु भएको पनि १७ वर्ष पुग्न लागेछ।
तर आज, फेरि, आमाको मुख हेर्ने दिन आयो।
यो दिन जुन बच्चैदेखि खुसी र माया बोकेर आउँथ्यो,
आज त्यही दिन, तपाईं बिना, हृदयभरिको पीडाको दिन बनेर आएको छ।
कहिल्यै कल्पना गरेको थिइनँ एउटा दिन यस्तो आउँछ,
जहाँ आमाको मुख हेर्ने दिनमा तपाईंको अनुहार सम्झनामा मात्रै खोज्नु पर्नेछ।
जहाँ फूल चढाउने थाल सिँगार्दा पनि मनमा खालीपनको आँधी चल्छ आज त्यो दिन हो। आमा जहाँ तपाईंको अभावले मनभित्र शून्यता फैलिएको छ।
जहाँ आँखाले आशिष खोज्छ तर मनले थाहा पाउँछ —
तपाईं अब केवल यादहरूमा बाँकी हुनुहुन्छ।
आमा तपाईं हुनुहुन्थ्यो भने आज म तपाईंको हात समातेर मख्ख पर्थेँ,
तपाईंको निधारमा टिका लगाएर तपाईंको आँखामा त्यो अनमोल चमक देख्थेँ। तर आज तपाईंलाई देख्न सक्दिन,
तपाईंलाई छुने त परै जाओस्, तपाईंको आवाज पनि समयको चिसो मौनतामा हराएको छ।
तर तपाईंप्रतिको हाम्रो माया जस्ताको तस्तै छ।
तपाईंले दिएको शिक्षाले, तपाईंले सिकाएको धैर्यले,
हामीले जीवनका अनगिन्ती आँधीहरू पार गर्यौं।
तर आज, तपाईंको काख नपाउँदा, मन फेरि कमजोर बनेको छ।
आमा, तपाईं त यो धर्ती छाडेर धेरै टाढा जानुभयो।
तर तपाईंको सम्झनाले त हामीलाई कहिल्यै छाडेन।
सपनामा कहिले काँही तपाईं आउनुहुन्छ,
सधैं त्यो उस्तै मायालु हाँसोका साथ।
त्यसपछि मनभरि आशिषको झझल्को भरिन्छ,
अनि बिहान आँखा खुल्दा फेरि एउटा चिसो यथार्थसँग मुठभेड हुन्छ आमा तपाईं हुनुहुन्न भन्ने।
आज, यो आमाको मुख हेर्ने दिनमा,
तपाईंको झझल्कोमा फूल चढाउँछु,
श्रद्धा र प्रेमको धुप जलाउँछु,
अनि मनका गहिरा कुना-कुनाबाट तपाईंलाई सम्झन्छु।
संसारका सबै सुखहरू एकातिर,
तपाईंको एउटा मुस्कान अर्कोतिर राख्दा पनि,
तपाईंको मुस्कान नै भारी हुन्छ।
✍️ लेखक रुकुम पश्चिमका महेश बुढाथोकी हुनुहुन्छ ।
लेखकको सम्वन्धमा