चम्किन हिरा होइन विचारको उज्यालो चाहिन्छ
कविता
✍️विक्रम सहयात्री
जबसम्म आँखीझ्यालबाट
भविष्य नियाल्ने सपनाहरू
आफ्नै इच्छाहरूको साटो
अरूको रोजाइमा निर्भर रहन्छन्,
जबसम्म सपनाहरूलाई
समाजको तुलोले जोखिन्छ,
त्यतिबेला सम्म ‘नारीदिवस’
एउटा चर्को व्यंग्य जस्तो लाग्छ।
कि त म स्वतन्त्रताको गीत गाउँछु,
कि त पुरातन जंजीर
भाँच्ने आँट देखाउँछु,
तर किन हरेक मोडमा
म नै सम्झौताकी चिरफार बन्दछु!
किन मलाई महलकै चौघेरो प्रिय देखिन्छ
किन मलाई झुपडीको सत्य स्वीकार्य हुँदैन!
किन म पुरुष सरह जीम्मेवारी सम्हाल्न सक्दिन्न
किन म सुरक्षित घेराभित्रकै ओत खोज्छु
किन मेरो जिन्दगीको ‘प्राइमरी इनकम’
सधैँ श्रीमानकै तलबलाई मानेर बाँच्छु!
समानता भनेको विशेष अधिकार होइन,
समानता भनेको जिम्मेवारी बाँड्ने आँट हो।
चम्किन हिरा होइन
विचारको उज्यालो चाहिन्छ,
खुसी हुन महल होइन
मनको चौपारी चाहिन्छ।
नारी दिवसको असली अर्थ
तब मात्र भेटिन्छ,
जब म आँफै बदलिन्छु,
मेरो सोच बदलिन्छ।
जबसम्म मैले साँचो अर्थमा ‘
बराबरी’ रोज्दिनँ,
त्यतिबेलासम्म मेरा भाषणहरू, र्यालीहरू,
रंगीन पोस्टरहरू
केवल शब्दका छायाँहरू मात्र हुनेछन्।
लेखकको सम्वन्धमा