नेपालको शिक्षा नीतिमा मार्ग परिवर्तनको आवश्यकता
✍️प्रमोद सुवेदी
कुनै पनि देशको विकाश र उत्थान त्यो देशले अंगिकार गरेको शिक्षा नीतिमा निर्भर रहन्छ । कस्तो ज्ञान, सीप, संस्कार र सोचयुक्त समाजको सिर्जना गर्न खोजिएको हो, त्यो कुरा मुलुकको शिक्षा नीतिमा छर्लङ्ग देखिएको हुन्छ । २०२८ सालमै लागु भएको राष्ट्रिय शिक्षा पद्धति योजना ले “राष्ट्रिय प्रतिभालाई फुलाउने फलाउने तथा जनताको मनोभावनालाई विकाशमूलक बनाउने“ नीति लिएको थियो र त्यसबाट “केही वर्षभित्रै एउटा जागरुक, परिश्रमी र उन्नतिशील समाजको सिर्जना हुन सक्नेछ“ भन्ने अपेक्षा समेत गरिएको थियो।
तमाम चुनौतिका वाबजूद लागु गरिएको राष्ट्रिय शिक्षा पद्धति योजना (२०२८) नेपालको शैक्षिक विकाशका दृष्टिकोणले आफैमा एउटा क्रान्तिकारी पहलकदमी थियो।आज समय धेरै अगाडि बढिसकेको छ। देशमा राजनीतिक परिवर्तन सँगसँगै शिक्षा नीतिमा पनि व्यापक परिवर्तन गरिएको छ।
यसो हुनु स्वभाविकै पनि हो समय परिवर्तन सँगै समयका अपेक्षाहरु पनि बढ्दै जान्छन् । शिक्षाका भाषा र परिभाषाहरु पनि बदलिँदै जान्छन् । तर जतिसुकै समय बदलिए पनि शिक्षाका केही आधारभूत मान्यताहरु छन् जुन कदापि बदलिनु हुँदैन। शिक्षा जीवन परिवर्तनकालागि हो ।
शिक्षा मानवताको सेवाकालागि हो शिक्षाले न्यायपुर्ण र शोषणरहित समाजको निर्माणमा योगदान दिन सक्नुपर्छ । शिक्षाले स्वावलम्वी हुन सिकाउनु पर्छ।
तर के समयसँगै बदलिएको हाम्रो वर्तमान शिक्षा नीति शिक्षाका यी आदर्शहरु पालना गर्दै सही दिशा तर्फ उन्मुख छ त ? यसमा पुनर्विचार गरी पुनर्मूल्याङ्कन गर्नुपर्ने बेला भइसकेको छ ।
अब प्रश्न सोध्ने बेला आएकोछ – कतै हामीलाई र हाम्रा सन्ततीहरुलाई हाम्रै शिक्षा नीति मार्फत विदेशीका गुलाम, पश्चिमाका पूजारी, डलरका भोका, र आफ्नो उचाइ र गौरव बिर्सने “लिलिपुटका लघुमानव” बनाउने खेल त भईरहेको छैन ? हामी कुनै वाह्य शक्तिको, अझ प्रष्ट भन्नु पर्दा, पश्चिमा शक्तिको मस्तिष्क धुलाइ मस्तिष्क व्यवस्थापन को वृहत चक्रव्युह मा त परिरहेका त छैनौँ ? कतै हाम्रो शिक्षा नीति बनाउने र लागु गर्ने तहसम्म वाह्य शक्तिकै दलालहरु नै पुगिसकेका त छैनन् ?
छर्लङ्गै छ- एक स्वावलम्वी नेपालीले यी सबै प्रश्नहरुको उत्तर निराशाजनक नै पाउने छ । यो अत्यन्त गम्भीर विषय हो।
यो मुलुककै भविष्यसँग गाँसिएको कुरा हो वास्तवमा शिक्षा ज्ञान, सीप र सँस्कारको त्रिवेणी हो सामान्य भाषामा भन्दा नजानेको कुरा जान्नु ज्ञान हो; जानेको कुरा व्यवहारमा लागु गर्नसक्नु सीप हो; अनि ज्ञान आर्जन र सीप प्रदर्शन गर्दा वा परिवार तथा समाजमा रही जीवनयापन गर्दा सबैसँग मानवोचित असल व्यवहार गर्नु नै सँस्कार हो ।
यी तीन कुरामध्ये सबै भन्दा महत्वपूर्ण कुरा सँस्कार नै हो । किनभने, ज्ञान र सीप हासिल गर्न धेरै समय लाग्दैन, तर असल सँस्कार अवलम्वन गरी सोही अनुरुप व्यवहार गर्नसक्ने हुन तुलनात्मकरुपले लामो समय लाग्दछ । सँस्कारको कसीमा आजका शिक्षार्थीहरुलाई राखेर हेर्दा कहालिलाग्दो अवस्था देखिन्छ । केही अपवादबाहेक अधिकांश शिक्षार्थीहरुमा सामान्य सँस्कार समेत नभएको कुरा यत्रतत्र देख्न सकिन्छ । यसमा दोषी को ? अभिभावक ? शिक्षक ? शिक्षार्थी स्वयम् ? वा समग्र शिक्षा नीति ?
शिक्षा देश र परिवेश सुहाउँदो हुनु पर्दछ अन्ध नक्कल गर्दा परिणाम राम्रो आउन सक्दैन।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै हामीले विद्यार्थीहरुलाई अधिकारका कुराहरु धेरै सिकायौँ। किन्तु, सोही अनुपातमा जिम्मेवारी र कर्तव्यका कुराहरु सिकाउन सकेनौँ फलस्वरुप अधिकार र कर्तव्य बीचको सन्तुलन बिग्रन पुग्यो। यसले गर्दा विद्यार्थीहरुमा अराजकता बढ्न गयो र स्वतन्त्रताको सही परिभाषालाई उनीहरुले आत्मसात् गर्न सकेनन्।
परिणामतः राजनीति, कर्मचारीतन्त्र, न्याय, शिक्षा, स्वास्थ्य लगायत राष्ट्रनिर्माणका सबैजसो क्षेत्रहरुमा अराजक झुण्डहरु प्रभावशाली र हावी हुन पुगे ।
२०६३ सालको परिवर्तन पछि त झन् राष्ट्रका निम्ति शिक्षा नीति यती घातक हुन पुग्यो कि शिक्षाले देशभक्तिको भावना जगाउन नसक्दा १२ कक्षा पास गरेका अधिकांश विदेश पलायन हुनुमा गर्व गर्न थाले युवावर्गको स्वाभिमान जोगाउनकानिम्ति शिक्षाले कुनै भूमिका खेल्न सकेन। यसले कालान्तरमा कस्तो प्रभाव पार्ने हो, कसैले सोचेको समेत अनुभूत हुँदैन ।
२१औँ शताब्दिमा समेत नेपाल विदेशीहरुको “सस्तोमा दास किन्न पाइने ठाउँ“ को रुपमा रुपान्तरित हुनपुगेको छ । पश्चिमी मुलुकमा जाने अधिकांशको उच्चशिक्षापछि स्वदेश फर्कने चाहना सम्म हुँदैन । त्यसैले त उनीहरु जानेबित्तिकै ग्रीनकार्ड वा पी.आर. को चक्करमा लागिहाल्छन् । फर्कने ईच्छा भएको भए किन त्यसो गर्थे र ? माटोको मायाँ, ईतिहासप्रतिको गौरव, परिवार र समाज प्रतिको दायित्व, मौलिक सँस्कृति र परम्पराको अनुसरण र संरक्षण जस्ता कुराहरुको भावना विद्यार्थीहरुमा जगाउने काम शिक्षाको नै हो जसमा नेपालको वर्तमान शिक्षा नीति चुकेको देखिन्छ ।
आजको नेपालको शिक्षा “जुट्न भन्दा फुट्न चाहने“ असहिष्णु जमात उत्पादन गर्नमा निकै हद सम्म जिम्मेवार देखिन्छ । धार्मिक र जातीय असहिष्णुताका बिउहरु कलिला वालमस्तिष्कहरुमा नजानिदो तरिकाले रोपिएको छ । हामी एक हौँ भन्ने भावना हराउँदै छ । “जातीय र साम्प्रदायिक पहिचान संरक्षण“को सुन्दर लेप लगाएर राष्ट्रिय पहिचान मेट्ने काम हुँदैछ। राष्ट्रिय पहिचान र ईतिहासको गौरव मेटियो भने भोलि कसैको पनि जातीय, धार्मिक, साँस्कृतिक, भाषिक, तथा साम्प्रदायिक पहिचान जोगाउन सकिनेछैन भन्ने यथार्थलाई नजर अन्दाज गरिएको अवस्था छ।
विद्यालय स्तरको शिक्षा क्षेत्रमै संलग्न भएको हुँदा यो पंक्तिकारले पनि स्कूलका साना नानीबाबुहरु कहिलेकाहीँ मैले मान्ने चाहीँ ईश्वर’, तैँले मान्ने चाहीँ शैतान’ भन्दै बहस गर्दै गरेको देखेको छ । आफूले मानेको चाहीँ ॅ
विश्वास’ अरुले मानेको चाहीँ अन्धविश्वास ठान्ने अचम्मको प्रवृत्ति मौलाउँदै छ।
कलिलै उमेरदेखि हाम्रा साना नानीबाबुहरुलाई धार्मिक तथा साँस्कृतिक साम्राज्यवादको भविष्यका कणर्धार बनाउँदै लगिएको छ। यसतर्फ शिक्षाविद्हरुको नजर पर्ने कहिले ?
विद्यार्थीहरुलाई पश्चिमीकरण र आधुनिकीकरण भनेका एउटै कुरा होइनन् भनेर बुझाउन सकिएको छैन । शिक्षाले समाजलाई अवश्य पनि आधुनिकतातर्फ लैजानुपर्छ। तर, आधुनिकताको परिभाषा पनि देश र काल सापेक्ष हुन्छ। पश्चिमीकरणलाई नै आधुनिकीकरण ठान्ने शिक्षाका ठेकेदारहरुले जसरी आज धार्मिक तथा साँस्कृतिक साम्राज्यवादलाई प्रोत्साहन गर्दैछन्, यसैगरी भोलि तिनले राजनीतिक साम्राज्यवाद विरुद्ध हिजो हाम्रा पुर्खाले लडेको ईतिहासलाई पनि गलत व्याख्या गरेर हाम्रा वीर पुर्खाहरुलाई नै गलत सावित गर्दै पाठ्यपुस्तकहरुमा पढ्ने र पढाउने व्यवस्था गर्न बेर लगाउलान् जस्तो लाग्दैन। मानसिकरुपमै दास भईसकेपछि मालिकलाई खुशी पार्न स्वाभिमान बेचेको मान्छेले जे पनि गर्न सक्छ।
चाहे त्यो मान्छे राजनीति क्षेत्रको होस् वा शिक्षा क्षेत्रको ।
आधुनिकताको नाममा हाम्रा नानीबाबुहरुलाई कसरी पथभ्रष्ट बनाइँदैछ भन्ने कुरा हाम्रा पाठ्यपुस्तकका कतिपय सामग्रीहरुले प्रष्ट पार्छन् ।
२० वर्ष नपुगी विवाह गर्न नपाइने र १८ वर्ष नपुगी राजीखुशीले समेत सम्बन्ध राख्न नपाइने कानूनी प्रावधान भएको नेपालजस्तो मुलुकमा कक्षा ७/८ मै गर्भनिरोधका अस्थाई साधनहरु कसरी प्रयोग गर्ने भन्ने कुरा पाठ्यपुस्तकमै सिकाइन्छ ।
कुन तहको प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा कति उमेर समूहका वालवालिकाहरुलाई दिनुपर्छ भन्ने सामान्य हेक्का समेत राखिएको हुँदैन । इन्टरनेटको पहुँच बढ्दै गएको आजको समयमा इन्टरनेटमा उपलब्ध अश्लील सामग्रीहरुको शिकार हाम्रा कलिला वालमस्तिष्कहरु भईरहेको कुरामा समेत शिक्षाका सरोकारवालाहरुको खासै ध्यान गएको देखिदैन। यसले समाजमा कस्तो विकृति ल्याउँदैछ, कस्ता प्रकृतिका आपराधिक कृयाकलापहरु बढ्दैछन्, त्यसमा सबैको चासो हुनुपर्ने हो र नीतिगत तहमै समाधानका उपायहरु खोज्नुपर्ने हो।
तर, त्यसो हुन सकिरहेको छैन ।
यसैगरी, शिक्षकप्रतिको श्रद्धा र सम्मानको कमीले शिक्षकहरुको आत्मसम्मान पनि निकै स्खलित भएको अवस्थामा छ । भनिन्छ, जुन देशमा शिक्षकको अपमान हुन्छ, त्यो देशको कहिल्यै उन्नति हुन सक्दैन। नेपालमा शिक्षकहरु अपहेलित भएका थुप्रै उदाहरणहरु देख्न सकिन्छ। विद्यार्थिकै अगाडि अभिभावकहरुले शिक्षकका निम्ति निकृष्ट शब्द प्रयोग गरिरहेका हुन्छन् ।
आफैँले पढाएको विद्यार्थी कुनै युनियनको नेता बन्नेबित्तिकै शिक्षकलाई हेप्न उद्यत भईसकेको हुन्छ । समाजमा एउट भ्रष्ट कर्मचारीले जति सम्मान पाएको हुन्छ, त्यती सम्मान एउटा सदाचारी शिक्षकले समेत पाएको देखिदैन। यसरी आत्मसम्मानमा चोट पुगेको शिक्षकले कसरी आफ्नो कर्तव्य गौरवसाथ गर्न सक्छ ? सरकारी विद्यालयहरुमा त झन् शिक्षकहरु राजनीतिक पूर्वाग्रहका समेत शिकार भईरहेका हुन्छन् ।
राजनीतिक दलको झोला बोक्नु धेरै हद सम्म उनीहरुको वाध्यता पनि हो।
यस्तो वातावरण कहिले सम्म कायम रहने ?
सुधार्न खोज्नेहरु पनि शिक्षकहरुलाई पेलेर मात्र वातावरण सुध्रन्छ भन्ने ठान्छन्। विरुवा सुक्दै छ, पातमा पानी छम्कने प्रयास भईरहेको देखिन्छ। जरामा पानी कस्ले हाल्ने ? सरोकारवालाहरुले आप्नै आङमाथिको भैँसी कहिले देख्ने ? समग्रमा भन्नु पर्दा, यस पङ्तिकारको विचारमा, नेपालको शिक्षा नीतिमा वाह्य हस्तक्षेपबिना र समग्र शिक्षाक्षेत्रमा राजनीतिक हस्तक्षेपबिना माटो, हावापानी र युग सुहाउँदो किसिमले सुक्ष्म व्यवस्थापन गर्नु आवश्यक भईसकेको छ । जति चाँडो, उति राम्रो ।
पङ्तिकार लामो समयदेखि शिक्षाक्षेत्रमा कार्यरत हुनुहुन्छ
लेखकको सम्वन्धमा