भ्रष्टाचारकाे लागुपदार्थ

भ्रष्टाचारकाे लागुपदार्थ

मङ्सिर ४

कविता

प्रश्न:
आमा?
उत्तर:
हँ बा?
प्रश्न:
सन्चै छ?
उत्तर:
छैन बा!छैन सन्चाे छैन ,सारा शरीर नै दुख्छ!!
शिरदेखि पाउसम्म दुख्छ!
प्रश्न:
किन आमा?
उत्तर :
मेराे शिरकाे मणि अश्वत्थामाकाे झैँ झिकी दिए बाबू
तिम्रा ठुल्दाइहरूले!
त्रिसप्त गङ्गा वहने मेराे शिरलाई विषाक्त बनाएक्का छन् बा!
भ्रष्टाचारकाे लागु पदार्थ खाएर
मलाई कङ्गाल बनाए यिनीहरूले !
हिमाली जडीबुटीकाे मणि झिकेर स्वाहा पारे बा !
मेरा कुपुत्रहरुले!!!
तसर्थ,
मलाई माईग्रेन पीडा भएकाे छ बा!

कहिल्यै निकाे नहुने गरी
प्रश्न:
अनि अन्यत्र कहाँ दुख्छ आमा?
उत्तर:
पूरै शरीर दुख्छ,हात, गाेडा, उदर तहमा र छातीभित्रकाे
मुटुमा विशेष दुख्छ बा!

उच्च रक्तचाप भएर यी कुलङ्गार सन्तानकाे
पीडाले कुनै दिन मेरा सिरा र महाधमनीहरू बन्द भएर
म मुर्दा बनेकाे तिमी देख्नेछाै बा!
प्रश्न:
भ्रष्टाचार लागु पदार्थ हाे र आमा?
उत्तर:
हाे बा!
भ्रष्टाचार लागु पदार्थ नै हाे, याे खान पल्केका अम्मलीहरूलाई
इन्द्रका बाबू चन्द्रले पनि छुटाउन सक्तैनन् बा!
मात्र यति कहाँ हाे र?
याे त पाेटासियमसाइनाइड भन्दा खतरनाक
विष हाे बा!
यस्ताे लागुपदार्थ खाना पल्केका तिम्रा
ठुल्दाइहरूले मलाई
भाेलि चिहानघरमा रुपान्तरण गर्नेछन् बा!
हाे त्यही हाे यिनले गर्छाैँ भनेकाे सामाजिक रुपान्तरण?

✍️डा. कृष्णराज डी. सी.

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज