सल्यान प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा
सल्यान असार १६।
सल्यान जिल्लालाई कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको छ।
राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता सहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
जिल्ला भित्रका सबै १० ओटा स्थानीय तहले पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेपछि सोमबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले बताएको छ ।
जन्मिएको देखि १५ महिनासम्मका ३ हजार ८ सय ५९ बालबालिकालाई पूर्ण रुपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी दिदै खोप पाउने उमेर समूहका सबै बालबालिकालाई सरकारले निशुल्क उपलब्ध गराउने सबै प्रकारका (१४ किसिमका) खोप लगाएको पाइएको उहाँको भनाई छ ।
रिजालका अनुसार दार्मा गाउँपालिकाका ४०९, कुमाख गाउँपालिकाका ३१९, बनगाड कुपिण्डे नगरपालिकाका ४६२, सिद्ध कुमाख गाउँपालिकाका २१३, बागचौर नगरपालिकाका ५३७, छत्रेश्वरी गाउँपालिकाका ३३७, शारदा नगरपालिकाका ५८६, कालिमाटी गाउँपालिकाका ३७५, त्रिवेणी गाउँपालिकाका ३३५ र कपुरकोट गाउँपालिकाका २८६ बालबालिकाले पूर्ण खोप लगाएको समेत उहाँले बताउनु भयो ।
जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुको संख्या ८ हजार १ सय ८८ रहेको छ भने शुन्य डोज लगाउन छुटेका ३३ बालबालिकाहरुको खोजी गरी खोप लगाइएको छ।
जस अनुसार दार्मा गाउँपालिकामा ९७०, कुमाख गाउँपालिकामा १ हजार ५ सय ५१, बनगाड कुपिण्डे नगरपालिकामा ७७८, सिद्ध कुमाख गाउँपालिकामा १५१, बागचौर नगरपालिकामा १ हजार ५ सय २३, छत्रेश्वरी गाउँपालिकामा ३३३, शारदा नगरपालिकामा १ हजार ४९०, कालिमाटी गाउँपालिकामा १ हजार २०५, त्रिवेणी गाउँपालिकामा ८८४ र कपुरकोट गाउँपालिकामा १८३ १६ देखि ५९ महिनासम्मका बालबालिकाले पूर्ण खोप पाएका छन् ।
सल्यानलाई २०७९ भदौ १ गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।
त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा हुँदै आइरहेको छ ।


















लेखकको सम्वन्धमा