गिद्ध लोप भएपछी ५ लाख मानिसको मृत्यु कसरी भयो ?
नयाँदिल्ली :
कुनै समय भारतमा ठूलो संख्यामा गिद्धहरू पाइन्थे। गिद्ध गाईवस्तुका शव खोज्दै खेतबारीमा घुमिरहन्थे। कहिलेकाहीँ विमानस्थलबाट उड्ने क्रममा जेट इन्जिनमा गिद्ध अड्किएर खतरा हुन्थ्यो।
तर दुई दशकमा गिद्ध विलुप्त भए। विरामी गाईको उपचारमा प्रयोग हुने केही औषधिका कारण भारतमा ठूलो संख्यामा देखिएका गिद्ध मर्न थाले। सन् १९९० को मध्यसम्म ‘डाइक्लोफेनेक’ नामक औषधिका कारण ५ करोडको संख्यामा रहेका गिद्ध घटेर झण्डै शून्यजस्तै भए। ‘डाइक्लोफेनेक’ गाईवस्तुका लागि दुखाइ निवारक, सस्तो गैरस्टेरोइड औषधि हो, जुन गिद्धका लागि घातक हुन्छ। यो औषधिबाट उपचार गरिएका जनावरको शव खाने सबै पक्षीका मृगौला बिग्रिएर मरेका पाइन्छ।
‘स्टेट अफ इण्डियाज बर्ड्स’को नयाँ प्रतिवेदनअनुसार सन् २००६ मा जनावरहरूको उपचारमा डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्ध लगाइएकाले केही क्षेत्रमा गिद्धको मृत्यु घटेको थियो। तर तीनवटा प्रजातिका गिद्धमा यसको दीर्घकालीन असर पर्न गयो, जसले गर्दा ९१ देखि ९८ प्रतिशतसम्म क्षति पुग्यो।
‘यी पक्षीहरूको मृत्युले घातक ब्याक्टेरिया र संक्रमण फैलाएको छ। जसका कारण पाँच वर्षमा करिब पाँच लाख मानिसको मृत्यु भएको छ’‚ अमेरिकन इकोनोमिक एसोसिएसन जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ।
पाँच लाख मानिसको मृत्यु कसरी भयो ?
सामान्यतया गिद्धले वातावरणबाट हटाउने रोग र ब्याक्टेरिया फैलिएर यति धेरै मानिसको मृत्यु भयो। अध्ययनका लेखक प्रोफेसर इयाल फ्र्यांकका अनुसार गिद्धले प्रकृतिलाई स्वच्छ राख्छ। यिनीहरूले हाम्रो पर्यावरणबाट ब्याक्टेरिया र रोगले मरेका जनावर हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्, त्यसैले गिद्ध नहुँदा रोग फैलन सक्छ।
पर्यावरणमा सबै जीवका भिन्नाभिन्नै काम छन्, जसले हाम्रो जीवनलाई प्रभावित गर्छ। अर्का लेखक अनन्त सुदर्शनले गिद्धको संख्या कम भएका भारतीय जिल्लाहरू र अत्यधिक गिद्ध भएका जिल्लामा गिद्धको संख्यामा आएको गिरावटअघि र पछि भएका मृत्युदरको तुलना गरे।
उनले रेबिज भ्याक्सिनको बिक्री, जंगली कुकुरको संख्या र पानी आपूर्तिमा रोग फैलाउने कारकहरूको स्तर अनुसन्धान गरे। त्यसबाट उनले सुन्निने समस्या कम गर्ने औषधिको बिक्री बढेको र धेरै गिद्ध भएका जिल्लामा यसको संख्या घटेपछि मानव मृत्युदर ४ प्रतिशतभन्दा धेरैले बढेको पत्ता लगाए।
सन् २००० देखि २००५ को बीचमा गिद्धको संख्या घटेका कारण वार्षिक करिब १ लाख बढी मानिसको मृत्यु भएको अनुसन्धाताहरूको अनुमान छ। गिद्धले वातावरणबाट हटाइदिने ब्याक्टेरिया फैलँदा ती मान्छेको मृत्यु भयो। फलस्वरूप देशले हरेक बर्ष अल्पायुमै हुने मृत्युका कारण ६९ अरब डलर क्षति बेहोर्नुपर्यो।
कुनै प्रजाति नष्ट हुँदा मानवमा कस्तो असर पर्छ ?
अनुसन्धाताहरूका अनुसार, गिद्ध नहुँदा छाडा कुकुरको संख्या बढ्यो र मान्छेले रेबिज जस्ता रोगको सामना गर्नुपर्यो। त्यसक्रममा रेबिज भ्याक्सिनको बिक्री बढे पनि पर्याप्त मात्रामा उपलब्ध हुन सकेन। गिद्धको सट्टा, कुकुरहरूले सडेको अवशेष सफा गर्न सक्दैनथे, जसले ब्याक्टेरिया पिउने पानीसम्म पुग्न पाए। पानीमा दिसाजन्य ब्याक्टेरिया दोब्बरभन्दा बढी हुन पुगे।
‘भारतमा गिद्धको संख्या घट्दा भएको असर एउटा प्रजातिको लोपले मान्छेले अप्रत्याशित रूपमा कति धेरै क्षति बेहोर्नुपर्ने रहेछ भन्ने एउटा उदाहरण हो’‚ अध्ययनका सहलेखक प्रोफेसर सुदर्शनले भने्न‚ ‘याँ रसायनमात्र नभई प्राकृतिक वासस्थानको विनाश, वन्यजन्तुको व्यापारजस्ता मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका कारण जनावरमा परेको असरले हामीलाई समेत असर गर्छ।’ अब महत्त्वपूर्ण एवं प्रमुख प्रजातिहरूको संरक्षणतर्फ लक्षित स्रोत साधन र नियमको खाँचो रहेको उनले बताए।
मरेका गाई हटाउन गिद्धको भर पर्थे किसान
भारतमा सबैभन्दा बढी क्षति भोगेका गिद्धका प्रजातिमा सेतो पखेटा भएका गिद्ध, भारतीय गिद्ध र रातो गिद्ध पर्छन्। सन् २००० को दशक प्रारम्भतिर यी प्रजातिमा ठूलो गिरावट आयो। त्यसयता यिनीहरुको संख्या क्रमशः ९८ प्रतिशत, ९५ प्रतिशत र ९१ प्रतिशतले घटेको पाइन्छ। इजिप्सियन गिद्ध र प्रवासी ग्रिफन गिद्ध पनि उल्लेखनीय रूपमा घटे तर ती धेरै विनाशकारी रूपमा घटेनन्। भारतले सन् २०१९ को पशुगणनामा ५० करोडभन्दा बढी जनावरको संख्या दर्ता गरेको थियो जुन, संसारकै सबैभन्दा धेरै थियो।
अनुसन्धाताका अनुसार पहिले–पहिले किसान मरेका जनावर (जनावरको शव) छिटो हटाउन गिद्धमा निर्भर हुन्थे। भारतमा गिद्धको पतन चराका प्रजातिमा अहिलेसम्म देखिएकोमध्ये सबैभन्दा तीव्र गिरावट हो। यसलाई अमेरिकामा परेवा विलुप्त भएपछिकै सबैभन्दा ठूलो क्षति मानिन्छ।
स्टेट अफ इन्डियन बर्ड्सको रिपोर्ट अनुसार भारतमा अहिले बाँकी रहेका गिद्ध संरक्षित क्षेत्रमा छन्, जहाँ तिनीहरूको आहारमा सम्भावित दूषित जनावरभन्दा मृत वन्यजन्तु धेरै छन्। ‘निरन्तरको गिरावटले गिद्धमाथि आइपरेको खतरालाई संकेत गरिरहेको छ, जुन गम्भीर चिन्ताको विषय हो, किनभने गिद्धको संख्यामा गिरावटले मानव कल्याणमा नकारात्मक असर पार्छ’ अनुसन्धाता भन्छन्। जनावरका लागि प्रयोग गरिने औषधि पनि गिद्धका लागि ठूलो खतरा रहेको उनीहरू बताउँछन्।
जानकारहरूका अनुसार अहिले मरेका पशु गाडिन्छ। जनावरका शवको अभाव र जंगली कुकुरका कारण यो समस्या झन् गम्भीर बन्दै गएको छ। यसका साथै खानी र उत्खनन पनि ठूलो समस्याका रूपमा देखिएको छ, जसले केही प्रजातिका गिद्धको गुँड बनाउने विधिमा असर पुर्याएको छ।
भारतले गत वर्ष २० वटा गिद्ध पालेर, तिनका खुट्टामा स्याटेलाइट ट्याग राखी पश्चिम बंगालको बाघ आरक्षमा छोडिदिएको थियो। हालै गरिएको एक सर्वेक्षणमा दक्षिण भारतमा ३०० भन्दा बढी गिद्ध भेटिएको छ तर यो अझै पर्याप्त छैन। गिद्धको संख्या बढाउन अझै धेरै काम गर्न बाँकी रहेको विज्ञहरू बताउँछन्।
बिबिसी
लेखकको सम्वन्धमा