चिन्ता, चाहना र भविष्यको खोज

चिन्ता, चाहना र भविष्यको खोज

आजको नेपाली समाजमा युवायुवती दुई फरक तर समान चिन्ताले बाँधिएका छन्। कोही वैदेशिक रोजगारीमा छन् उनीहरूको मन परिवार, घरआँगन र मातृभूमितर्फ फर्किरहन्छ। कोही स्वदेशमै छन् उनीहरूको नजर भने विदेशतिर, जहाँ मेहनतको मूल्य पाइन्छ भन्ने विश्वास छ। यी दुवै अवस्थाको मूलमा एउटै प्रश्न लुकेको छ भोलिको भविष्य कसरी सुरक्षित बनाउने ?

वैदेशिक रोजगारीमा गएका युवायुवतीहरू शारीरिक रूपमा परिवारबाट टाढा छन्, तर मानसिक रूपमा उनीहरू सधैँ घरमै बसिरहेका हुन्छन्। आमाबुवाको स्वास्थ्य, साना छोराछोरीको शिक्षा, श्रीमान् श्रीमतीबीचको दूरी, चाडपर्वको एक्लोपन यी सबैले उनीहरूको मनलाई दिनरात किचिरहन्छ। पसिना बगाएर पठाएको पैसाले घर चलेको छ, तर त्यो पैसाले मायाको अभाव पूरा गर्न सक्दैन। मोबाइलको पर्दाभित्र सीमित भएको पारिवारिक सम्बन्धले उनीहरूलाई बारम्बार प्रश्न गर्न बाध्य बनाउँछ के यो त्यागको मूल्य पर्याप्त छ ?

अर्कोतर्फ, स्वदेशमै रहेका युवायुवतीहरू फरक किसिमको चिन्तामा छन्। उनीहरू देख्छन् देशमै मेहनत गर्दा पनि रोजगारी छैन, आम्दानी न्यून छ, भविष्य अनिश्चित छ। यही कारण उनीहरूको मनमा विदेश जाने सपना पलाउँछ। “केही वर्ष विदेश गएर पैसा कमाएपछि मात्र जीवन सुरक्षित हुन्छ” भन्ने सोचले उनीहरूलाई घच्घच्याइरहन्छ। परिवारसँगै बस्दा पनि मन अस्थिर छ, किनकि भोलिको जिम्मेवारी पूरा गर्न सकिएला कि नसकिएला भन्ने डर सधैँ साथमा छ।

यसरी हेर्दा, विदेशमा हुने र स्वदेशमा रहने दुवै युवायुवती एउटै चक्रमा घुमिरहेका छन्। एउटाले परिवारको चिन्ता बोकेको छ, अर्कोले भविष्यको असुरक्षा। फरक केवल स्थानको हो, पीडाको स्वरूप एउटै छ। यो अवस्था व्यक्तिगत कमजोरी होइन, संरचनागत समस्याको परिणाम हो देशभित्र पर्याप्त रोजगारीको अभाव, सीपअनुसारको अवसर नहुनु र श्रमको उचित मूल्य नपाउनु।

अब प्रश्न उठ्छ समाधान के ? समाधान केवल विदेश जानु वा नजानुमा सीमित छैन। समाधान स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्नु, सीप र श्रमको मूल्य सुनिश्चित गर्नु र युवालाई आफ्नै माटोमा भविष्य देख्न सक्ने वातावरण बनाउनु हो। जब देशभित्रै श्रमको सम्मान हुन्छ, तब विदेश गएको युवा परिवारसँग फर्किन चाहन्छ र स्वदेशमा बसेको युवा विदेशतिर हेर्न बाध्य हुँदैन।

युवायुवतीको चिन्ता देशको चिन्ता हो। उनीहरूको सपना सुरक्षित भए मात्र राष्ट्रको भविष्य सुरक्षित हुन्छ। त्यसैले आज आवश्यकता छ युवाको मन बुझ्ने, उनीहरूको पीडा सुन्ने र समाधान खोज्ने जिम्मेवार दृष्टिकोणको। यही बाटोले मात्र युवाको मनलाई दुई संसारबीच अल्झिनबाट मुक्त गराउन सक्छ।

✍️ महेश बुढाथोकी चौरजहारी रुकुम पश्चिम निवासी हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज