रितिदैछन गाउँबस्ती बेखबर बन्दैछ राज्य
नेपालका गाउँ–घरहरू आज इतिहासकै तीव्र गतिमा रित्तिँदै गएका छन्। खेतबारी बाँझो छन्, बस्ती सुनसान छन् र युवाशक्ति विदेशिन बाध्य छ। यो अवस्था संयोग होइन, यो राज्यको दीर्घकालीन नीतिगत असफलताको परिणाम हो। यदि यही क्रम जारी रहिरह्यो भने भोलिका दिनमा देश नै श्रमविहीन र उत्पादनविहीन बन्ने खतरा गम्भीर रूपमा बढ्दै गएको छ।
देशभित्र रोजगारी सिर्जना गर्न नसक्नु र उत्पादनमुखी अर्थतन्त्र विकास गर्न राज्य निरन्तर असफल भएको छ। नीति, योजना र कार्यक्रमहरू कागजमा सीमित छन् भने कार्यान्वयन कमजोर छ। शिक्षित र सीपयुक्त युवाहरू आफ्नै देशमा भविष्य नदेखेपछि विदेशिनु बाध्यता बन्दै गएको छ। गाउँबाट शहर हुँदै विदेशिने यो क्रमले गाउँको सामाजिक संरचना भत्किँदै गएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई परनिर्भर बनाइरहेको छ।
गाउँ रित्तिँदा त्यसको प्रभाव केवल जनसंख्यामा मात्र सीमित हुँदैन त्यसले कृषि उत्पादनमा ह्रास खाद्य सुरक्षामा जोखिम र परम्परागत संस्कृतिलाई भंग गर्दै दीर्घकालीन संकटमा पुर्याने निश्चित छ। आज गाउँमा वृद्ध र बालबालिका मात्र बाँकी छन्। श्रमशक्ति नभएपछि खेतबारी बाँझो रहनु स्वाभाविक हो। राज्यले आत्मनिर्भरताको कुरा त गर्छ, तर व्यवहारमा आयातमुखी अर्थतन्त्र झनै बलियो बन्दै गएको छ।
युवा शक्ति राष्ट्र निर्माणको मेरुदण्ड हो। तर राज्यले यही शक्तिलाई व्यवस्थित गर्न सकेको छैन। वैदेशिक रोजगारीलाई विकल्प नभई बाध्यता बनाइएको छ। रेमिट्यान्सले अर्थतन्त्र धानेको भ्रममा राज्य रमाइरहेको छ, तर यसले दीर्घकालमा सामाजिक विघटन, पारिवारिक समस्या र उत्पादनशीलताको ह्रास निम्त्याइरहेको तथ्यलाई बेवास्ता गरिएको छ।
अब समाधान खोज्न ढिलाइ गर्नु आत्मघाती हुनेछ। राज्यले गाउँ केन्द्रित विकास नीतिलाई प्राथमिकतामा राख्नैपर्छ।
✍️ महेश बुढाथोकी रुकुम पश्चिम



लेखकको सम्वन्धमा