जेन्जी विद्रोहले रचेको इतिहास र चित्रण गरेको राजनीतिक अध्याय

जेन्जी विद्रोहले रचेको इतिहास र चित्रण गरेको राजनीतिक अध्याय

भदौ २३ को बिहान, जब सूर्यका किरणहरू काठमाडौंका साँघुरा र ओसिला गल्लीहरूमा पोखिएका थिए ।
त्यसमा नित्यनिरत आभा थियो जसले सधैंको उज्यालो बोकेको थियो । सूर्योदयसँगै अवतरित ती नूतन किरणले एउटा भयानक सन्देश ल्याएको थियो।

तर त्यो सन्देशबाट राज्य, राज्य सञ्चालक र त्यसको छत्रछायामा बाँचेकाहरू बेखबर थिए। त्यही सूर्योदयसँगै एउटा पिँढीको हृदयमा दबिएको आक्रोश फुट्न थाल्यो ।

यो आक्रोश एउटा साधारण चिसो बिहान थिएन; यो ती युवा पुस्ताको समवेत आवाज थियो जसले युगान्तकारी बिहानि चाहेका थिए त्यो बिहानिमा भ्रष्टाचार, नातावात, कृपावादको दुर्गन्ध मिसिएको हुनुहुँदैनथ्यो र कलुषित बनिरहेको नेपाली राजनीति कञ्चन र कलकल बग्ने नदीजस्तै पवित्र हुनुपथ्र्यो ।

त्यो बिहानले नवयुवालाई एउटा दिशा दिनुपर्थ्यो जसले आफ्नै र्छयान, खेत, खलियानमा आफ्नो श्रम, सीप रोप्न सकून् । आफ्नो ज्ञान, पुँजी र मिहिनेत रोपेर आउँदो बिहानलाई अझ समुन्नत बनाउन सकून् ।

यो सपना नवयुवाले देखेका थिए। जसलाई हामी जेन जी भन्छौं । सन् १९९७ देखि २०१३ सम्म जन्मिएका यी पुस्ता डिजिटल युगका सन्तानहरू थिए । जसले फेसबुकका वालमा मात्र होइन, सडकका छातीहरूमा पनि आफ्नो आवाज लेख्न सिकेका थिए। भ्रष्टाचारको कालो तुवाँलो, नातावादको जालो र सामाजिक सञ्जालमाथिको गैरलोकतान्त्रिक प्रतिबन्ध, यी सबैले एउटा ज्वालामुखीलाई जन्म दियो ।
भदौ २३ र २४, ती दुई दिनहरू, जसले नेपालको इतिहासमा एउटा रातो रेखा कोर्न पुगे । एउटा यस्तो घाउ जुन देशको छातीमा अपूरणीय हिसाबले रहेको छ । अझै स्राव भइरहेछ, पीडाको अन्त्यहीन चित्कार शहीद परिवार र घाइतेजनको आर्तनाद !

यश आलेखमा ती दुई दिनको मात्र वर्णन होइन; यो ती युवाहरूको आँसु, आशा र आक्रोशको काव्यात्मक चित्र हो जसले राजनीतिक परिवर्तनको बीउ रोपेको छ । यसलाई संस्थागत गर्नु छ ।
आन्दोलनमार्फत् मुखरित चेतनालाई जग हाल्दै मुलुकलाई नवबिहानीसम्म पु¥याउनु छ ।

कल्पना गर्नुहोस्– बानेश्वर, संसद भवन आसपासका रक्तमुच्छेल सडकमा उभिएका ती युवाहरूको गोलीले छेडेका अनुहार र रगत थामेका हातहरू आन्दोलनका सहधर्मीका छुटेका जुत्ता, जुत्तासँगै छुटेका पैतालाहरू ती सबैले एउटा जीवन्त इतिहास कोरेको छ । जसले देखाएको छ नवयुग हिँड्ने बाटो ।

यो आन्दोलनको शङ्खनाद त्यसै भएको थिएन । रोजगारीको खोजीमा विदेश भौँतारिनुपर्ने बाध्यताले परिवारहरू खण्डित, टुक्रित थिए । मनहरू टाढिएका थिए । विछोडिएका थिए आलिङ्गन । सपनाहरू आकाशमार्ग हुँदै रातो बाकसमा फर्किइरहेका टीठलाग्दो दृश्यले उनीहरूलाई उद्वेलित तुल्याएको थियो ।

पीडा कण्ठसम्म आइपुगेपछि उनीहरू बोल्न खोज्थे–उनीहरूका हातेफोनहरूमा सामाजिक सञ्जालका पर्दा चलमलाउँदैनथे सरकारले ती चल्न निषिद्ध तुल्याएको थियो ।

सामाजिक सञ्जाल पछिल्लो पुस्ताको स्वास थियो । हृदयको स्पन्दन थियो ज्ञान र नवप्रवर्तनका नूतन चेतना थियो जब भदौ २० मा सरकारले केही सामाजिक प्लेटफर्म बन्द गर्ने सूची सार्वजनिक गरेपछि, जेनजीहरूको धैर्यताको बाध टुटन पुग्यो डिजिटल स्वतन्त्रता, जसले उनीहरूलाई विश्वसँग जोड्थ्यो ।

अन्ततः त्यही एउटा राजनीतिक हतियार बन्यो ।

बिहान ९ बजे सुरु भएको भेला, १० बजे दसौं हजारको भीडमा बदलियो । नयाँ बानेश्वरको संसद् भवनसम्म उनीहरूको जुलुस फैलियो। यो आन्दोलन थियो भ्रष्टाचारविरुद्ध, नातावादविरुद्ध – तर यो पनि थियो एउटा रचनात्मक र सिर्जनात्मक विद्रोह, जसमा युवाहरूले आफूलाई काव्यधारामा पनि पोखे– ‘हामी तिम्रा छोराछोरी हौं, तिमीहरूकै विकल्प खोज्ने ! एउटा समुन्नत नेपालको मार्गचित्र देखाउने !’

तर, आन्दोलनको सुन्दर सपना छिट्टै रक्तरञ्जित बन्न पुग्यो। प्रहरीको लाठी र गोलीले ती सपनाहरूलाई छियाछिया पा¥यो । भदौ २३ को दमनमा युवाहरूको चिच्याहट मिसियो आकाशमा । सुरक्षाकर्मीको अभिलेखअनुसार देशभरि गरी ती दुई दिनमा ७६ जना जीवन गुमाए । जसमध्ये २२ जना आन्दोलनकारीहरू थिए । तीन जना प्रहरी, १० जना कैदी र ४१ जना निर्दोष सर्वसाधारण । यो संख्यामा लुकेका छन् ती कथाहरू– एउटा बहिनीको भाइ, जसले सामाजिक सञ्जालमार्फत साथीहरूसँग जोडिने सपना देख्थ्यो, तर गोलीको शिकार भयो , एउटा आमाको छोरा, जसको हातमा फूलको थुंगा थियो, हृदयमा देशको भविष्य । भावनात्मक रूपमा, यो दृश्य एउटा भयानक दुःस्वप्न छ जहाँ युवा पुस्ताको आक्रोश दबाउन सरकारले उठाएको हतियारले ती युवाहरूको रगत–आँसुले सडक भिजायो ।र, त्यो रगतले मात्र होइन आँसुले पनि इतिहास लेख्यो। लाग्छ, यदि ती मृतकहरू बोल्न सक्थे भने, उनीहरू भन्दैथिए होलान्– ‘हामी मरेका छैनौं, हामी तिमीहरूको अन्तर्मनमा बाँचिरहेका छौं । हाम्रो रगतले मुलुकको अँध्यारो पन्छाइछाड्ने छ ।’
जेनजी विद्रोह एउटा महाकाव्यको अंश भन्दा फरक नपर्ला यो भानुभक्तको रामायण जस्तो होइन, जहाँ रामले रावणलाई हराउँछन् । यो त आधुनिक नेपाली साहित्यको ‘मुक्तक’ जस्तो छ– छोटो, तर गहिरो । युवाहरूले सडकमा लेखेका नाराहरू ‘भ्रष्टाचार मास्नुपर्छ, नातावाद दफन गर्नुपर्छ!

यी ती शब्दहरू थिए जसले नेपाली राजनीतिलाई नयाँ आयाम दिए। कल्पना गर्नुहोस्, एउटा युवा कवि, जसको कविता फेसबुकमा लेखिएको थियो । तर अब सडकको भित्तामा उही शब्दहरू रगतले लेखिएका छन् । यो आन्दोलनले साहित्यलाई राजनीतिसँग जोड्यो; यसले देखायो कि शब्दहरू मात्र होइनन्, ढुंगा र आगो पनि कविता लेख्न सक्छन् ।

ती दुई दिनहरूमा भएको तोडफोड र आगजनीबाट ६८८ सरकारी कार्यालय, २५९ निजी घर, १२८ व्यापारिक प्रतिष्ठानहरू ध्वस्त भए । यी क्षतिहरू एउटा दुखान्त कथा जस्ता छन्, तर तिनले पनि एउटा सन्देश बोकेका छन्– विनाशपछि अवश्यक निर्माण हुन्छ । जेनजीहरूले आफूलाई ‘डिजिटल योद्धा’ भनेर चित्रण गरे  र, उनीहरूको यो चित्रण नेपाली राजनीतिमा एउटा नयाँ अध्याय हो– जहाँ एक्स ट्वीटहरूले क्रान्ति जन्माउँछन् डिस्कोर्डले नयाँ युगको बिहानी देखाउँछ ।

राजनीतिक रूपमा, जेनजी बिद्रोह एउटा भूकम्प थियो, जसले नेपालको (कु)शासन प्रणालीको जग हल्लायो र आन्दोलनले सरकारको कमजोरी उजागर ग¥यो सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयले युवा पुस्तालाई आक्रोशमा बदल्यो र देशभर फैलिएको यो आन्दोलनले राजनीतिक पुस्तान्तरणमा नयाँ बाटो देखाएउन बाध्य बनायो जुन बाटो भएर हिडनु आजको राजनीति र राजनीतिक दल हिँड्नु अब अनिवार्य भइसकेको छ ।

यश बिद्रोहले पुरानो सत्तालाइ कुर्सिबाट सडक घिसार्न पुग्यो र आलोपालो उहीँ दल र उहीँ पात्रको सत्ता भत्कायो र युवा शक्तिको उदय ग¥यो नेपाली राजनीतिमा एउटा नव अध्यायको सुरुवात गर्न पुग्यो ।
अहिले त्यो विद्रोह को सम्झना गर्दा, हृदय भारी हुन्छ ती ७६ जीवनहरू, ती सयौं घाइतेहरू, उनीहरूका परिवारहरू अझै न्यायको प्रतीक्षामा छन् । तर, यो दुखान्तमा पनि आशाको झिल्को छ । जेनजीहरूले आवाज र एजेन्डा दबाउन सकिएला तर विद्रोह र भावना होइन यो आन्दोलन एउटा भावनात्मक तुफान थियो, जसले हामीलाई सोच्न बाध्य बनायो– हामी कुन नेपाल चाहन्छौं ? भ्रष्टाचारको जन्जीरले बाँधिएको, वा युवा सपनाले उड्ने ?
साहित्यिक रूपमा, यो एउटा अमर कथा हो; राजनीतिक रूपमा, यो परिवर्तनको सुरूआत हामी सबैलाई यो घाउ चाँडै निको होस् भन्ने कामना छ ।
तर सडकमा बगेको रगत र नवपुस्ताको आँसु नबिर्सौं । किनकि यही सम्झनाले हामीलाई बलियो बनाउँछ । प्रिय जेनजीहरू ! तिमीहरूको बोकेको दियालोले नेपाललाई नयाँ उज्यालो दिने छ र रगतले कोरिएका चाहनाहरू नयाँ राजनीतिक व्यवस्थाको रूपमा मुलुकलाई उज्यालो भविष्यतिर डो¥याउने छ भन्ने आशा छ ।