उनिहरुले सोधे कति कमायौ
कविता : उनीहरुले सोधे कति कमायौ
म जब सर्वोच्च शिखर
चुमेर फर्किएँ
उनीहरूले सोधे
कति कमायौ?
कविता लेखेँ, गीत गुनगुनाएँ,
भित्रैको भाका संसारसँग बाँडेँ,
तर प्रश्न फेरि उस्तै-
काम के गर्छौ?’
भकुण्डो खेलेँ, कराते
उसु,तेक्वान्दो खेलेँ
तर प्रश्न फेरि उस्तै
कति कमायौ?’
समाज रुपान्तरण गर्न
चेतना फैलाएँ
तर प्रश्न फेरि उस्तै
राजनीति गरेर के पायौं?
शब्दहरू सँगको मेरो सम्बन्ध
खेलहरुसँगको मोह,
समाज रुपान्तरण गर्ने चाह,
उनीहरूका लागि, केवल
बेरोजगारीको प्रमाणपत्र मात्र बन्यो!
किन उपलब्धिलाई पैसाको
तराजुमा तौलिन्छ?
किन ‘सपना’ हरायो
र बाँकी रह्यो केवल
धनी देखिने’ आकांक्षा!
समाजले सिकायोसफलता भनेको
गाडी हो, बंगला हो, ब्राण्ड हो,पैसा हो।
त्यहि सोचमा हुर्किए प्रसाईंहरू,
लोन लि खा नतिर!
समाजले सिकायो सफलता भनेको
अमेरिका अस्ट्रेलिया जापान वा कोरिया जानू हो।
त्यही सोचमा हुर्किए
कलिला युवा बिध्यार्थीहरु
विवश छन् त्यहीँ भिडमा
आफुलाई उभ्याउन जानीनजानी
नोकरचाकर र दासको जिन्दगी जिउन
समाजलाई खोक्रो सफलता देखाउदै
कहाली लाग्दो जीवन बाचिरहेछ्न!
शब्दको अर्थ हरायो,
सत्ता धर्म, बन्यो
जहाँ सेवा होइन, स्वार्थ बोल्छ
दक्षता र शिक्षाले नभई,
चाकडीले बढेको छ उचाइ!
हामी आफ्ना सन्तानलाई भन्न सकिनौ,
‘जाउ त्यो गितार समाऊ
कविता लेख, गेम खेल
समाज रुपान्तरण गर
किनभने हामिलाइ ठुलो डर छ
‘भविष्य के बन्छ कस्तो बन्छ?
हामीले सपनाको उत्तराधिकारी होइन
डरको वंशज बनायौं!!
अब समय आएको छ
कसैले-कसैलाई चिच्याएर नसोधोस
कति कमायौ?’
बरु शान्त स्वरमा सोधोस्
कसरी कमायौ!!
किनभने,
अन्तिममा हामीसँग बाँकी रहने कुरा
बैंक ब्यालेन्स नभई
हाम्रो नाम, प्रतिष्ठा ,विचार र
हामीले पार्ने प्रभाव हो!
अब सोच बदलौं।
सपना बेच्न होइन,
जीवन बाँच्न सिकौं!!!
✍️ बिक्रम सहयात्री












लेखकको सम्वन्धमा