मतदानका दिन सातै प्रदेशमा पानी पर्ने सम्भावना
बैशाख २९ , काठमाडौँ।
स्थानीय तहको निर्वाचनअन्तर्गत मतदानका दिन शुक्रबार वैशाख ३० गते पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको बलेटिअनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ।
उक्त दिन (शुक्रबार) साँझ ६ बजेदेखि भोलिपल्ट (शनिबार) बिहानसम्म प्रदेश नं १ का केही स्थान साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। चक्रवात ‘असानी’ हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ।
ती प्रणालीका प्रभावले अहिले (बिहीबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
यस्तै दिउँसो प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार राति प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।








लेखकको सम्वन्धमा