त्रिवेणीमा ७२ प्रतिशत योजना सम्झौता, बैशाख भित्रै योजनाहरुको निर्माण सक्ने लक्ष्य

त्रिवेणीमा ७२ प्रतिशत योजना सम्झौता, बैशाख भित्रै योजनाहरुको निर्माण सक्ने लक्ष्य

पुस २१, सल्यान ।

आर्थिक बर्षको अन्त्यमा हुने चाप घटाउन तथा पारदर्शी र गुणस्तरीय कामको लागि सल्यानको त्रिवेणी गाउँपालिकाले बैशाख महिना भित्र सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

हाल सम्म ७२ प्रतिशत बढी योजना सम्झौता गरिसकेको गाउँपालिकाले वाँकी आयोजनाहरु पौष भित्रमा सम्झौता भइसक्ने जनाएको छ । जम्मा १६७ वटा योजनाहरु रहेको त्रिवेणिमा १२१ वटा योजना सम्झौता भइ कार्यान्वयनमा रहेका छन् । चालू आर्थिक बर्षको सुरुवातमै सक्रिय भएर लागेको र यसले असार मसान्तमा कामको भार कम हुने तथा आउँदो वर्षका योजना छनोट गर्न सहज हुने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अपेक्षा रहेको छ ।

त्रिवेणि गाउँपालिकाका अनुसार हाल सम्म १३ वटा योजनाहरु सम्पन्न भइसेकका छन् भने ‘माघ महिना भित्रमा ९० वटा योजनाहरुको निर्माण कार्य सम्पन्न भैसक्ने अवस्था छ।
, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के सी का अनुसार कोलचौर देखि दाङ जोड्ने सडक, लुहाम फलावाड मख्खनटाकुरी सडक, लुहाम पोखरीज्यूला ढोरचौर सडक तथा सल्लेखोला सिम्क पिपलबोट सडक यस बर्षका मुख्य गौरवका आयोजनाहरु रहेका छ्न । यी आयोजनाहरु समयमा नै टेण्डर प्रक्रियाद्वारा सम्झौता भईसकेकोले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने आधार तयार भएको प्रमुख प्रशासकीय अधिकृत के सी ले जानकारी दिनु भयो ।
गाउँपालिकाको प्रशासकिय भवनको ६० प्रतिशत र पालिका स्तरीय अस्पताल भवनको ३० प्रतिशत अर्थात पहिलो तला ढलानको कार्य सम्पन्न भइसकेको छ ।

हरेक हप्ताको वुधवार र विहिवार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिती संयोजक सीता खड्का पुनको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत, इन्जिनियर, योजना शाखा प्रमुख, वडा अध्यक्ष तथा प्राविधिकको उपस्थितिमा आयोजनाको अनुगमन गर्ने, सल्लाह सुझाव दिने कार्य गर्दछ । ‘हामिले हरेक वडामा प्राविधिकको व्यवस्था गरेका छौं । उहाँहरु हरेक दिन फिल्डमा जाने र बेलुका आ आफ्नो क्षेत्रमा भएका कार्यको अनलाइन रिपोर्टिङ गर्ने गर्नुहुन्छ । जसले आयोजनामा गुणात्मकता कायम गर्न टेवा मिलेको छ’, प्रमुख प्रशासकीय अधिकृत केसीले भन्नुभयो । त्रिवेणि गाउँपालिकाले कार्य समपन्न भए पश्चात उक्त आयोजनामा कुनै असन्तुष्टी, गुनासो भएमा ७ दिनको भुक्तानी दावी विरोधको सूचना प्रकाशन गरी त्यसमा कुनै उजुरी परेमा छानविन समिति गठन गरी आवश्यक छानविन तथा अनुसन्धान गर्ने प्रवन्ध पनि मिलाएको छ ।

सामुहिक अनुगमन गर्ने कार्यलाई जोड दिएको गाउँपालिकाले कार्य सम्पन्न भइसके पश्चात सर्वपक्षिय सहभागितामा गरिएको नाप जाँचको मुचुल्का तयार गरी भुक्तानीको लागि सवैपक्षबाट सिफारिस गराउने गरेको योजना शाखाले जनाएको छ । नाप जाँच पश्चात वडा अध्यक्ष तथा सदस्यहरु समेतको वृहत सहभागितामा सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण गर्ने कार्यले आयोजनामा पारदर्शीता पर्वद्धन गरी सुशासन कायम गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समिति गठन भइसकेपश्चात त्रिवेणी गाउँपालिकाले समितिलाई अभिमुखीकरण पनि गरेको थियो । आयोजनाहरु कसरी सञ्चालन गर्ने, जनसहभागिता कसरी जुटाउने, निर्माण प्रक्रियामा आउने प्राविधिक कठिनाईलाई के कसरी समाधान गर्ने तथा कार्य सम्पन्न भइसकेपश्चात भुक्तानीमा के के कागजात संलग्न गर्ने भन्ने सन्दर्भमा विभिन्न विषय वस्तुमा आधारित रही अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत केसी ले जानकारी दिनु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज