July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
सल्यानको राजनीति र एमालेको नवौँ जिल्ला अधिवेशनबारे

सल्यानको राजनीति र एमालेको नवौँ जिल्ला अधिवेशनबारे

गणेशमान सिंह

पौष २१, सल्यान । सल्यानमा (एमाले) पार्टीले यही २३ गते देखि शुरु हुनेगरी नवौँ जिल्ला अधिवेशन गर्दैछ । त्यसको तयारी स्वरुप जिल्ला कमिटिको बैठकबाट आवश्यक निर्णयहरु भएका छन् । जिल्ला नेताहरुको नेतृत्वमा तयारी उपसमितिहरु बनेका छन् । जसले अधिवेशन भव्य र सफल बनाउनेछ । गएको तिन वर्षको नेपालको कम्युनिष्ट आन्दोलन अभूतपूर्व घटना परिघटनाले भरिपूर्ण छ । रोचक घोचक र सोचक ति दृश्य परिदृश्यले जो कोही कम्युनिष्ट कार्यकर्ता उद्देलित, भावुक र केही मात्रामा निराश नभइ रहन सक्दैन । तथापी एमाले पार्टीको गौरवशाली इतिहास र केपी शर्मा वलीको अदम्य साहशिक नेतृत्वबाट भने कम्युनिस्ट आन्दोलनमा फेरि आशा पलाएको छ । जोश जागेको छ । कम्युनिस्ट आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियान फेरि फेरि अघि बढेको छ ।

मदन भण्डारी द्धारा प्रतिपादित जनताको बहुदलिय जनवादको आलोकमा नेकपा एमालेले नेपालको संसदिय कम्युनिष्ट आन्दोलनमा आफुलाई अब्बल मात्र सावित गरेन कि यस बाटोमा सबै कम्युनिष्ट घटकलाई नेतृत्व गर्ने हैसियत राख्यो । अझै राख्छ । राख्नेछ । जबजको बाटोमा विलय भएको माओवादी आन्दोलन र प्रचण्डको नेतृत्व पंक्ती अहिले आफ्नो कुसित स्वार्थ पुरा नहुने देखेर चोक चौतारामा गल्ली सडकमा आलापविलाप गरेर भौतारि हिडेका छन् । एमाले र त्यसको नेतृत्व केपी वलीलाई सत्तोसराप गरीराखेका छन् । नेपालबाट एमाले सिध्याउने व्यर्थको कुचेष्टामा आफ्नो सबै उर्जा खर्चेका छन् । ठिक यही परिस्थितिमा एमाले सल्यानले पनि केही नयाँ केही भिन्न मनोविज्ञान र अन्तरविरोधका साथ आफ्नो नवौँ जिल्ला अधिवेशन गर्दैछ ।

राजनैतिक नेता कार्यकर्ताको लागि पार्टीका भेला सम्मेलन अधिवेशन भनेका विशेष चाडपर्वहरु हुन् । नयाँ उर्जा, जोश र जाँगर उमार्ने अधिवेशन भेलामा जोकोही कार्यकर्ताले पनि सकृय भाग लिन रुचाउँछ । भेला सम्मेलन भनेको नेतृत्वको छनौट मात्र नभई विचारको बहस र विगतको समिक्षा पनि हो । सिप, क्षमता, कौशल, र बुझाईलाई नयाँपनि दिने अवसर पनि हो । राजनैतिक पार्टीहरुमा विचार सिद्धान्त र कार्यदिशाले शिर्षस्थान लिन्छ । लक्ष्य, उद्देश्य,रणनिित र कार्यनीतिले विशेष महत्व बोक्छ । पार्टीका सम्मेलन, अधिवेशन र भेलाहरुले नेतृत्व कार्यकर्तालाई एकै थलोमा राखेर यिनै विषयहरुमा बहस गर्ने, छलफल गर्ने, अन्र्तक्रिया गर्ने र सही, समसामयिक र उचित निर्णयका साथ राजनैतिक पहलकदमी लिने अवसर दिन्छ । मिल्छ । हो, सल्यानमा एमालेका झन्डै पाँच सय प्रतिनिधिहरु यही कामको लागि जुट्दैछन् ।

सल्यानमा विशेषत संसदिय राजनीतिमा तिनवटा पार्टी बिचमा तिव्र र सघन प्रतिष्पर्धा र प्रतिनिधित्व हुने देखिन्छ । एक नेकपा एमाले, दुई नेपाली काँग्रेस र तिनमा माओवादी केन्द्र । जसलाई संक्षिप्त रुपमा चर्चा गरौँ :

नेपाली काँग्रेस
अहिले सल्यानमा सबैभन्दा उत्साहित पार्टी नेपाली काँग्रेस हो । संघ र प्रदेशमा अनपेक्षित सत्ता प्राप्तीले पनि काँग्रेसका कार्यकर्ताको खुशीले सिमा नाघेको छ । एककिसिमले खुशीको बेहोसीमा छन् भन्दा पनि हुन्छ । जुनसुकै वस्तुको उत्थान र पतनमा सबैभन्दा मुख्य कारण आन्तरिक हुन्छ भन्ने माक्र्सवादी मान्यताबाट भन्दा अहिले भर्खरै सम्पन्न जिल्ला अधिवेशन प्रतिनिधिले चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा जुन छनौट गरे त्यो अनपेक्षित थियो । पुराना नेताहरुको बदलामा उर्जावान युवा पंक्तिहरुको समूह पार्टी नेतृत्वमा उदायो । तर सल्यान काँग्रेस भित्रको गुटबन्दी यति खतरनाक छ कि त्यसबाट पार पाएर पार्टीलाई शक्तिशाली बनाउन सजिलो छैन । तसर्थ अहिले काँग्रेसले बुझ्नु पर्ने सत्य के हो भने अझै जिल्ला राजनीतिको शिर्ष स्थान ओगट्न यो खुशी र उत्साह पक्कै पर्याप्त छैन । आउँदै गरेको चुनावमा विजय हासिल गर्न पनि यत्ति खुशी र उत्साहले हुँदैन भन्ने बुझन् काँग्रेस नेतृत्वलाई कुनै गाहे छैन ।

राजनीतिमा समय सिमाले सफलतालाई टाढा नजिक दिलाउने गर्छ नै । चुनाव आउने अबको छोटै समयमा सल्यानमा काँग्रेसले माओवादी युद्धबाट क्षतविक्षत भएका आफ्ना कार्यकर्ताको आत्मविश्वासलाई कति बढाउन सक्ला ? सल्यानमा निरन्तर हार बेहोरेको पार्टीले यसपटक विजयको लागि कस्तो रणनीति बनाउला ? विषय सोचनिय छ । गाउँगाउँमा माओवादीको धम्कीपूर्ण राजनीतिक दबदबाका सामू अझै केही समय काँग्रेसी नेताकार्यकर्ता निरही हुनेछन् । शिथिल र निष्कृय हुनेछन् । गाउँघरमा काँग्रेसको पुरानै आधारको मत त छ तर त्यो मतलाई सुरक्षित र सबल ढंगले मतपेटिका सम्म पुगाउन काँग्रेसको यो नेतृत्वले कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

दशकौँ देखि माओवादीको आधार जिल्लामा पर्ने सल्यानमा जनसरकार देखि स्थानीय सरकार, प्रदेश सरकार देखि केन्द्र सरकारसम्मको रजगजले एउटा ठूलो स्वार्थी झुन्ड बलियो ढंगले संगठित छ । अझै सल्यानी जनता त्यो उपयोगी जमातको मिश्या, भ्रमपुर्ण राजनीतिमा भ्रमित छन् । तलतल जाँदा माओवादी नेता कार्यकर्तामा जसरी पनि स्रोत, साधन र सत्ता कब्जामा जुन संघर्ष, जालझेल र षडयन्त्र देखिन्छ त्यसप्रति सबै राजनैतिक नेतृत्व पंति समयमै सचेत हुनुपर्छ । सल्यान काँग्रेसमा आवश्यक कुटनिती, रणनीति र पहलकदमीका साथ माओवादी भित्रको त्यो सत्ता लिप्सालाई मुक्त गर्न र काँग्रेसलाई सत्तामा स्थापित गर्न नेतृत्व पंक्तिमा समसामयिक स्पष्टता कत्तिको आउला ? हेर्न बाँकी नै छ ।

माओवादी केन्द्र
सिंगो माओवादी आन्दोलन अहिले सपना विहिन, लक्ष्य विहिन र गन्तव्य विहिन अवस्थामा छ । जाने टुंगो छैन, हिड्ने सुरसार छैन र पुग्ने ठाउँ कतै छैन तरपनि माओवादी कार्यकर्ताको बरबराहट अचम्मको छ । भाषा क्रान्तिकारी जार्गन क्रान्तिकारी र काम भने भ्रान्तिकारी अहिलेको माओवादीको चित्र हो । अघिल्लो दिन क्रान्तिकारी कुरा ग¥यो भोलीपल्ट पुँजीवादी महलमा पुग्यो र अलिपछी दक्षिणपन्थ दलालमा परिणत भयो अहिलेको माओवादी नेता कार्यकर्ताको दिनचर्या यस्तै छ । कहिले काँग्रेसलाई सराप्यो र एमालेको पुच्छर समात्यो, कहिले एमालेलाई सराप्यो र काँग्रेसको पुच्छर समात्यो । कहिले विप्लव वैद्य र बावुरामलाई गाली ग¥यो कहिले उनैहरुको एकतामा भविष्य देख्यो । कहिले माधव नेपाललाई क्रान्तिकारी देख्यो त कहिले विदेशीहरुको कम्र्फरटेबल बन्यो । यस्तैमा माओवादीको केन्द्रिय उर्जा खपत भइरहेको अवस्थामा सल्यानमा पनि शक्ति र सत्ता बचाउने अनेक कुचेष्टामा माओवादी पंक्ती लागेकै छ ।

हामी कसैले चाहेर पनि नचाहेर पनि सल्यानमा माओवादी पार्टी अझै एमाले काँग्रेसको कडा प्रतिस्पर्धी पार्टी भने हो । सल्यानका दश पालिका मध्ये चार पालिकामा आफ्नो नेतृत्व भएको एमाले पार्टी सबैभन्दा ठूलो जनमत भएको पार्टी हो । काँग्रेस माओवादीले बराबरी तिन तिन पालिकामा आफ्नो नेतृत्वको सरकार चलाएका छन् । तरपनि सल्यानमा माओवादी घमण्ड भनौँ वा आत्मविश्वास उदेकलाग्दो छ । देशैभरी माओवादी पार्टीको ओरालो यात्रा जारी छ । माओवादी प्रतिको भरोसा जनतामा घट्दो छ । तर माओवादी नेता कार्यकर्ताको तरिका भने मेरा बाजेले घिउ खाए मेरो हात सुँघ सुँघ भन्ने जस्तो छ । गाउँगाउँमा माओवादी पार्टीप्रति वितृष्णा बढ्दो छ । एउटा उदाहरण दिउँ– सल्यानका दश स्थानीय सरकार मध्ये जनतामा सबैभन्दा चरम निराशा कहीँ छ भने त्यो माओवादीले नेतृत्व गरेको स्थानीय सरकारमा छ । भ्रष्ट्राचार, बेथिति, अनैतिकताका अनेक काण्डहरु यिनै पालिकामा अचाक्ली छ ।

माओवादी पार्टी हतियार बिसाएर संसदिय राजनीतिमा आएको वर्षाैँ भइसक्यो । यो बिचमा जनतामाझ माओवादी पार्टी नांगिन केही बाँकी छैन । माओवादीले आफ्ना विचार, सिद्धान्त,प्रतिबद्धता, नारा, संघर्ष र बलिदानको भिमकाय विरासत गंगा नदीमा बगाइसकेको छ । र यतिबेला नेपालको राजनीतिमा जोगी भएर भिक्षा माग्दै हिडेको छ । जसले कटौरामा जे हालिदियो त्यै उपलब्धी ठानेर आत्मरति लिन सिवाय अरु माओवादी सँग केही देखिदैन ।

यतिबेला सल्यानका गाउँबस्तीबाट माओवादीको भ्रमको खेती जनता सामु प्रष्ट्याउने र जनतालाई साँचो विकास, प्रजातन्त्र र समाजवादको बाटोमा अग्रसर गराउने महान अवसर एमाले पार्टीको पोल्टामा परेको छ । सल्यानको कम्युनिस्ट आन्दोलन अगाडि बढाउने महान अवसर पनि एमालेको भागमा परेको छ । तसर्थ माओवादी केन्द्र जस्तो भविष्यविहिन पार्टी आन्दोलनबाट जतिसक्दो त्यहाँ भएका बचेखुचेका इमानदार कम्युनिस्ट कार्यकर्तालाई एमाले पार्टीभित्र संगठित गर्दै जनता माझ साँचो कम्युनिस्ट पार्टीको रुपमा स्थापित गर्न र जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउन एमालेले जिल्ला भित्र विभिन्न अभियान नै संचालन गर्नुपर्ने देखिन्छ ।

नेकपा एमाले
राजनीतिमा कहिलेकाँही अनौठा र अनपेक्षित संयोग जुर्ने गर्छन । सल्यानको एमाले पार्टीमा पनि वर्षौँ पछि एउटा त्यस्तै संयोग भनौँ वा के भनौँ भएको छ । जसमा दुई पात्र जोडिनु भएको छ गुलाबजंग शाह र प्रकाश ज्वाला । सल्यानको एमाले पार्टीको बारेमा जिल्लामा केही भ्रम छ यी दुई पात्रको राजनैतिक सकृयताको बारेमा । त्यो भ्रम के भने सल्यानको एमाले निमार्णमा प्रकाश ज्वालाको एकलौटी भूमिका छ भन्ने बुझाई हुनु । स्वाभाविकै पनि हो कि सल्यानको एमाले पार्टीबाट सबैभन्दा बढी अवसर पाउने भाग्यमानी नेता हुन् प्रकाश ज्वाला । बहुदल आएदेखि अहिलेसम्म निरन्तर झन्डै तिन दशक प्रकाश ज्वालाले पार्टीबाट निरन्तर अवसर पाउनुभयो भने गुलाबजंग शाह पार्टीबाट उपलब्ध हुने सबै सबै अवसरबाट तिन दशक सम्मै बंचित हुनुप¥यो । जसले प्रकाश ज्वालाले संसदिय राजनीतिमा पार्टीबाट पाएको तिस वर्षे अवसरले आजसम्म नाम प्रसिद्धि दियो भने उता गुलाबजंग शाह पार्टी भित्रै निरन्तर संघर्ष गर्नुप¥यो । हामी नेपालीहरुमा एउटा अनौठो रोग छ कि हामी सबै कुरा छिटै भुल्छौँ र लहैलहैमा लाग्छौँ । भूपी शेरचनको कवितै छ यो हल्लैहल्लाको देश हो । कुनैकुराको पनि इतिहास खोतल्दैनौँ त्यसको गर्भमा गएर विषय बुझ्ने कोशिस नै गर्दनौँ ।

पचासको दशकमै एमाले पार्टी विभाजन हुँदाको सल्यानको राजनीतिमा गुलाबजंग शाह जु्न अवस्थामा हुनुहुन्थ्यो ठिक त्यस्तै अवस्था छ अहिले प्रकाश ज्वालाको । हो यस लेखमा चर्चा गर्न खोजेको अनौठो संयोग यसै विषयमा हो । तिन दशक देखि आजसम्म सल्यानमा एमाले पार्टीबाट सबै सुविधा अवसर उपलब्ध थिए प्रकाश ज्वालालाई जुन अहिले एमाले छोड्दा गुमेको छ । भूमिका फेरिएको छ । प्रकाश ज्वालाको राजनीतिको ओरालो यात्रा शुरु भएको छ । र वर्षाैँपछि ढिलैभएपनि गुलाबजंग शाहलाई समयले न्याय दिएको छ । एमाले सल्यानको नेतृत्वमा उहाँ आईपुग्दा नपुग्दै चर्चा शुरु भएको पनि छ । प्रकाश ज्वाला भन्दा भिन्नता उहाँको नेतृत्वमा के देखिन्छ ? पक्कैपनि हिजो जुन सजिलो प्रकाश ज्वालालाई थियो त्यो अहिले छैन । समय र राजनीति असाध्यै अर्को ठाउँमा पुगेको छ ।

अहिलेको भिमकाय अन्तरविरोधमा सल्यानमा एमाले पार्टीलाई कसरी अगाडि बढाउनुहुन्छ त्यो परिक्षा शुरु भएको छ । तिस वर्षसम्म पार्टीका सबै अवसर पाएर राईदाँई गरेको ज्वालाको नेतृत्व पंक्ति अहिले त्यै पार्टीलाई जसरी पनि सिध्याउने भूमिकामा पुग्नुभएको छ । अबको प्रकाश ज्वालाको राजनीति नै सल्यानको एमालेलाई सिध्याउनु हो । ज्वालाटिमले आजसम्म सल्यानको एमाले बनाएको प्रकाश ज्वालाले हो भन्ने हल्लालाई पुष्टी गर्नपनि त्यो समूहको एकमात्र काम सल्यानको एमाले सिध्याउने हो । ताकि भन्न सकुन देख्यौ प्रकाश ज्वाला नभएको एमाले कस्तो भयो ? अहिलेको एमाले सल्यानका सबै नेताकार्यकर्ताले बुझ्ने सत्य यही हो कि, एमाले पार्टी र नेतृत्व गुलाबजंग शाह माथी हिजो एमाले पार्टी बाट वर्षौँसम्म अवसर पाएकाहरुले निर्मम प्रहार र षडयन्त्र गर्नेछन् । जीवन मरणको लडाँई लड्ने छन् । एमाले पार्टी भित्र अनेक तरहले खेल्न खोज्ने छन् । यसमा सबै एमालेका नेता कार्यकर्ता चनाखो हुन जरुरी छ । नेतृत्वको चुनौतीलाई सबै कार्यकर्ताले उदारमन र विशाल छातीले बुझेर अगाडि बढ्न जरुरी देखिन्छ ।

अन्तमा,
सल्यानको सबैभन्दा ठूलो पार्टी एमाले हो । जनमतका हिसाबले निरन्तर सल्यानको नेतृत्व गरेको यो पार्टी अहिले चुनौतीपूर्ण मोडमा उभिएको छ । पार्टी विभाजनले आउने अनेकौँ चुनौतीलाई सबै मिलेर परास्त गर्नुछ । पार्टी भित्र भिन्न भिन्न खेमा, विचारबाट आएका थु्प्रो नेता कार्यकर्ताको जमघट छ यसलाई पनि उदारमनले पार्टी भित्र व्यवस्थापन गर्न, भूमिका दिएर विशाल एमाले पार्टी निमार्ण गर्न जरुरी छ । अहिले हुन गइरहेको यो अधिवेशनको विशेष महत्व यसमै रहेको छ कि सबै राजनीतिक कार्यकर्ताले एमाले पार्टी भित्र सुरक्षा महशुस गरुन र भविष्य देखुन् । राजनीतिमा पार्टीका, व्यक्तिका जीवनमा आरोह अवरोह त हुन्छन् नै तर सुबैभन्दा मुख्य कुरा राजनीतिको केन्द्रमा जनता हुन्छन् कि हुँदैनन् भन्ने हो ।

जनताका सुखदुखको बारेमा राजनीतिले पार्टीले के गर्छ भन्ने हो । सल्यानको शिक्षामा, स्वाथ्यमा, विद्युतमा, सडक जस्ता विकाशका पूर्वाधारमा जुन विकराल स्थिति छ त्यसको हल गर्ने जिम्मा एमाले पार्टीले लिन सक्छ कि सक्दैन ? सल्यानी जनताको केन्द्रिय राजनीतिक भूमिकामा घट्दै गएको आत्मविश्वासलाई माथी उठाउन सक्छ कि सक्दैन ? सल्यानमा त विकाशै भएन भन्ने स्थापित थेगोलाई अब त विकाश भयो भन्ने धारणामा विकाश गर्न सक्छ कि सक्दैन ? पक्कै पनि यी विवध विषयमा घनीघुत छलफल गर्दै नयाँ नेतृव नयाँ पहलकदमीका साथ पार्टीको नवौँ जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न हुनेछ । हामी सबैलाई शुभकामना !

(लेखक सिंह नेकपा (एमाले) सल्यानका जिल्ला कमिटी सदस्य हुन ।)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज