January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
सल्यानको नारायण मा.वि देशैभरिका तेस्रो उत्कृष्ट सामुदायिक विद्यालय

सल्यानको नारायण मा.वि देशैभरिका तेस्रो उत्कृष्ट सामुदायिक विद्यालय

सल्यान ।

देशभरका २७ हजार सामुदायिक विद्यालयमध्ये सिन्धुलीका दुई र सल्यानको एउटा विद्यालय माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याएर पुरस्कृत भएका छन् ।

विषयगत शिक्षक, भौतिक पूर्वाधार, शैक्षिक सामग्रीलगायतको अभावका बीच दुर्गम क्षेत्रका विद्यालय १२ कक्षाको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।

देशैभरिका उत्कृष्ट तेस्रो सामुदायिक विद्यालयमा सल्यानको कुमाख गाउँपालिकाको रुमालगाउँस्थित नारायण मावि बनेको छ । गत वर्ष कक्षा १२ को परीक्षा दिएका ९६ जनामा सबै उत्तीर्ण भएका थिए । विद्यालयका अनुसार अघिल्लो वर्ष ६१ र २०७७ मा ७४ जनाले कक्षा १२ को परीक्षा दिएकामा सबै विद्यार्थीको नतिजा डी प्लसभन्दा माथि आएको थियो ।

यहाँ मावि र निमावि स्थायी दरबन्दीका शिक्षक छैनन् । कक्षा १२ सम्म सञ्चालित विद्यालयमा १४ जना शिक्षक कार्यरत छन् । विद्यालयमा प्रावि तहको दुई मात्र स्थायी दरबन्दी छ । विद्यालयले गत वर्ष एसईई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षाको व्यवस्था गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक देवेन्द्र रावतका अनुसार २०७९ को एसईई परीक्षामा ८४ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७५ विद्यार्थीले बी ग्रेडभन्दा माथि ल्याएको उनले बताए । २०३२ सालमा स्थापित यो विद्यालयले २०६९ मा माविको अनुमति पाएको थियो । चार वर्षदेखि विद्यालय कक्षा १२ सम्म सञ्चालनमा छ । दरबन्दीअनुसार विद्यालयमा ४ मावि, ३ निमावि, ३ प्रावि र २ जना प्लस टु तहका शिक्षक हुनुपर्ने हो तर अहिलेसम्म स्थायी दरबन्दीका शिक्षक दुई जना मात्र कार्यरत रहेको प्रधानाध्यापक रावतले बताए । उनका अनुसार विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म ६ सय ५२ विद्यार्थी अध्ययनरत छन् । स्थायी दरबन्दी नै नभएका कारण संघीय सरकारको अनुदानबाट माविका तीन र गाउँपालिकाको अनुदानबाट निम्न माध्यमिक तहका तीन जना शिक्षक भर्ना गरिएको छ । विद्यालयले निजी स्रोतबाट ५ जना शिक्षक भर्ना गरेको उनले बताए ।

विद्यालयमा अहिलेसम्म तीनवटा पक्की भवन छन् भने पर्याप्त कक्षाकोठाको अभावमा ११ र १२ का विद्यार्थीलाई बिहान र एकदेखि १० सम्मका विद्यार्थीलाई दिउँसो पढाउने गरिएको प्रअ रावतले बताए । ‘पर्याप्त शिक्षक तथा शैक्षिक सामग्रीको अभावका बाबजुद पनि विद्यालयमा कक्षा १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गरिरहेका छौं,’ उनले भने, ‘नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदा हाम्रा विद्यार्थीले राम्रो नतिजा हासिल गरिरहेका छन् ।’ शिक्षक र अभिभावकबीच सम्बन्ध प्रगाढ बनाउन मासिक रूपमा बैठक बस्ने गरिएको र बैठकको निर्णयअनुसार पठनपाठनलाई व्यवस्थित बनाउने गरिएको उनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर थापाका अनुसार विद्यालयमा सौर्य ऊर्जामार्फत कम्प्युटर विषयको पठनपाठन भइरहेको छ । उनले विद्यालयमा पर्याप्त शिक्षक नहुँदा निजी स्रोतबाट भर्ना गरिएका शिक्षकलाई तलब खुवाउन वार्षिक करिब १३ लाख रुपैयाँ लाग्ने गरेको बताए । उनका अनुसार त्यो खर्च अभिभावकको सहयोगबाट जुटिरहेको छ । आगामी शैक्षिक सत्रदेखि प्राविधिक धारतर्फको पठनपाठन गराउन पहल थालिएको उनले बताए । उनले आगामी वर्षदेखि टाढाका विद्यार्थीलाई विद्यालयमा ल्याउन सजिलोका लागि बसको व्यवस्था गर्न प्रक्रिया थालिएको सुनाए ।

शिक्षक रामकुमार शर्माका अनुसार विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीका लागि बिहान र साँझ १/१ घण्टाको अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ । ‘विद्यार्थीलाई मूल्यांकन गर्न विभिन्न परीक्षालाई नियमित गरेका छौं,’ उनले भने, ‘एसईईका बेला ३ महिना विद्यार्थीलाई आवासीय व्यवस्था गरी पढाउने व्यवस्था गरिएको छ ।’ शिक्षकको मिहिनेतका कारण छोटो समयमा शैक्षिक गुणस्तरमा धेरै परिवर्तन आएको अभिभावक प्रेमबहादुर रावतले बताए । ‘पूर्वाधार र दक्ष जनशक्ति अभावका बीच पनि हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन्,’ उनले भने, ‘विद्यार्थीको सिकाइ दर पनि बर्सेनि बढिरहेको छ ।’

कान्तिपुर दैनिकबाट